नेपालमा लामो समयसम्म सफल करियरको अर्थ एउटै थियो– स्थायी जागिर, निश्चित तलब र एउटै संस्थामा बर्सौं सेवा । सरकारी सेवा वा ठुला संस्थामा स्थायी रोजगारी पाउनु नै जीवनको प्रमुख लक्ष्य मानिन्थ्यो । सूचना प्रविधिको तीव्र विकास, विश्वव्यापीकरण र बदलिँदो श्रम बजारले यो परम्परागत अवधारणालाई क्रमशः चुनौती दिन थालेको छ । आजका धेरै युवाका लागि जीवनभर एउटै पेसामा सीमित रहनु आकर्षक विकल्प हो भन्ने लाग्न छोडेको छ । बरू आफ्ना विभिन्न सिप, रुचि र अनुभवलाई संयोजन गरेर बहुआयामिक करियर निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसलाई आधुनिक भाषामा ‘पोर्टफोलियो करियर’ भनिन्छ ।
नेपाल जस्तो देशमा जहाँ औपचारिक रोजगारीका अवसर सीमित छन् तर युवा जनसङ्ख्या ठुलो छ, पोर्टफोलियो करियर नयाँ सम्भावनाको ढोका बन्न थालेको छ । सूचना प्रविधि, डिजिटल प्लेटफर्म र विश्वव्यापी श्रम बजारसँगको पहुँचले धेरै नेपाली युवालाई एउटै जागिरमा निर्भर नभई विभिन्न कामको संयोजनबाट आयआर्जन गर्ने अवसर दिएको छ । यसले रोजगारीको परम्परागत ढाँचालाई मात्र परिवर्तन गरेको छैन, आर्थिक आत्मनिर्भरता र उद्यमशीलताको नयाँ संस्कृतिलाई पनि प्रोत्साहित गरिरहेको छ । पोर्टफोलियो करियर भन्नाले एउटै व्यक्तिले एउटै समयमा विभिन्न पेसा वा काम संयोजन गरेर आफ्नो करियर निर्माण गर्ने प्रणालीलाई बुझिन्छ । यसमा व्यक्ति एउटै संस्थामा पूर्णकालीन रूपमा निर्भर हुँदैन, बरु आफ्नो सिप, अनुभव र रुचि अनुसार अलग अलग काम गर्छ ।
उदाहरणका लागि, कुनै व्यक्तिले विश्वविद्यालयमा आंशिक समय अध्यापन गर्न सक्छ, सँगै अनलाइन प्लेटफर्ममार्फत सामग्री लेखन गर्न सक्छ, परामर्श सेवा दिन सक्छ वा अनुसन्धान परियोजनामा सहभागी हुन सक्छ । यी सबै गतिविधि मिलेर उसको करियरको ‘पोर्टफोलियो’ तयार हुन्छ । यस्तो अवस्थामा व्यक्तिको पहिचान एउटै पेसाले होइन, विभिन्न सिप र अनुभवको संयोजनले निर्धारण गर्छ । यो अवधारणा आधुनिक अर्थतन्त्रको लचिलो श्रम बजारसँग गहिरो रूपमा सम्बन्धित छ । आजको विश्वमा कामको स्वरूप स्थिरभन्दा गतिशील हुँदै गएको छ । प्रविधिको विकासले काम गर्ने स्थान, समय र विधि सबैलाई परिवर्तन गरिदिएको छ ।
विश्वव्यापी प्रवृत्ति र नेपाल सन्दर्भ
विकसित देशमा पोर्टफोलियो करियरको अवधारणा केही दशकअघिदेखि विस्तार हुन थालेको हो । सूचना प्रविधि, मिडिया, सिर्जनात्मक उद्योग, शिक्षा र परामर्श सेवामा संलग्न धेरै पेसाकर्मीले पूर्णकालीन जागिरभन्दा स्वतन्त्र पेसालाई प्राथमिकता दिन थालेका छन् । नेपालमा पनि पछिल्ला वर्षमा यो प्रवृत्ति विस्तार हुँदै गएको छ । सूचना प्रविधि, डिजिटल मार्केटिङ, सामग्री लेखन, अनुवाद, ग्राफिक डिजाइन, भिडियो सम्पादन, अनलाइन शिक्षण र सामाजिक सञ्जाल सामग्री निर्माण जस्ता क्षेत्रमा धेरै युवाले एकै साथ विभिन्न काम गरेर आफ्नो आयको स्रोत विविधीकरण गरिरहेका छन् । कोभिड–१९ महामारीपछि विश्वभर फैलिएको रिमोट वर्क (दुरस्थ काम) को अवधारणाले यस प्रवृत्तिलाई अझ तीव्र बनायो । महामारीका कारण धेरै संस्थाले अनलाइन कामको अभ्यास सुरु गरे, जसले भौगोलिक सीमालाई कम महत्व दिन थाल्यो । यसको प्रभाव नेपालमा पनि देखियो । अहिले धेरै नेपाली युवा अन्तर्राष्ट्रिय अनलाइन प्लेटफर्ममार्फत विदेशी ग्राहकसँग काम गरिरहेका छन् ।
डिजिटल प्रविधि र नयाँ अवसर
पोर्टफोलियो करियरको विस्तारमा डिजिटल प्रविधिको भूमिका निर्णायक छ । इन्टरनेट, स्मार्टफोन र डिजिटल प्लेटफर्मको प्रयोगले व्यक्तिलाई विश्वव्यापी श्रम बजारसँग प्रत्यक्ष जोडिदिएको छ । नेपालका धेरै युवा फाइभर, अपवर्क, फ्रिलान्सर डटकम जस्ता प्लेटफर्ममार्फत ग्राफिक डिजाइन, वेब विकास, डिजिटल मार्केटिङ, प्रोग्रामिङ र सामग्री लेखन जस्ता काम गरिरहेका छन् । यसका अतिरिक्त युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल पनि नयाँ आयस्रोतका रूपमा विकसित हुँदै गएका छन् । यसरी डिजिटल माध्यमले युवालाई केवल रोजगारी खोज्ने मात्र होइन, आफ्नै सिप र सिर्जनात्मकताका आधारमा अवसर सिर्जना गर्ने वातावरण प्रदान गरेको छ ।
नेपालमा प्रत्येक वर्ष ठुलो सङ्ख्यामा युवा श्रम बजारमा प्रवेश गर्छन् । उपलब्ध रोजगारीको सङ्ख्या सीमित छ । सरकारी सेवामा प्रतिस्पर्धा तीव्र छ भने निजी क्षेत्रमा पनि स्थायी रोजगारीको दायरा अपेक्षाकृत सानो छ । यस्तो अवस्थामा पोर्टफोलियो करियर युवाका लागि स्वरोजगार र उद्यमशीलताको प्रभावकारी विकल्प बन्न सक्छ । एउटै स्रोतमा निर्भर नभई विभिन्न स्रोतबाट आम्दानी गर्न सकिने भएकाले आर्थिक जोखिम पनि कम हुन्छ । उदाहरणका लागि, कुनै शिक्षकले विद्यालयमा पढाउन सक्छन्, सँगै अनलाइन कक्षा सञ्चालन गर्न सक्छन्, पुस्तक लेख्न सक्छन् र अनुसन्धान परियोजनामा पनि संलग्न हुन सक्छन् । यसरी विभिन्न कामको संयोजनले आयको दायरा विस्तार हुन्छ र आर्थिक स्थायित्व पनि बढ्छ ।
सिप विकासको आवश्यकता
पोर्टफोलियो करियरको आधार भनेको सिप हो । यस्तो करियरमा सफल हुन व्यक्तिसँग विभिन्न क्षेत्रमा काम गर्न सक्ने क्षमता र निरन्तर सिक्ने प्रवृत्ति आवश्यक हुन्छ । नेपालमा अहिले युवा पुस्ताले सूचना प्रविधि, डिजिटल डिजाइन, भाषिक अनुवाद, लेखन, डेटा विश्लेषण, अनलाइन शिक्षण र उद्यमशीलता जस्ता सिप विकास गर्न थालेका छन् । यस सन्दर्भमा शिक्षा प्रणालीले पनि केवल डिग्रीमा केन्द्रित रहनुभन्दा व्यावहारिक सिप, सिर्जनात्मक सोच र नवप्रवर्तनशीलता विकास गर्ने दिशामा ध्यान दिनु आवश्यक छ । पोर्टफोलियो करियरका सम्भावना उत्साहजनक भए पनि चुनौती पनि छन् । पहिलो चुनौती आयको स्थिरता हो । स्थायी जागिरमा जस्तो निश्चित तलब नहुँदा कामको उपलब्धता अनुसार आम्दानी घटबढ हुन सक्छ ।
दोस्रो चुनौती सामाजिक सुरक्षाको अभाव हो । धेरै स्वतन्त्र पेसाकर्मी पेन्सन, स्वास्थ्य बिमा वा अन्य सामाजिक सुरक्षा सुविधाबाट वञ्चित हुन्छन् । तेस्रो चुनौती नीतिगत स्पष्टताको कमी हो । नेपालमा फ्रिलान्सर वा गिग कामदारको कानुनी स्थिति अझै पूर्ण रूपमा स्पष्ट छैन । अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा रहेका अवरोधले पनि काम गरेर कमाएको रकम सहज रूपमा देशमा ल्याउन कठिनाइ उत्पन्न गर्ने गरेको छ ।
राज्यको भूमिका
पोर्टफोलियो करियरलाई व्यवस्थित र दिगो बनाउन राज्यको भूमिका महत्वपूर्ण हुन्छ । सरकारले गिग कामदार र फ्रिलान्सरलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउने नीतिगत व्यवस्था गर्नु पर्छ । अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई सहज बनाउने, डिजिटल पूर्वाधार सुधार गर्ने, स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने जस्ता कदमले यस क्षेत्रलाई बलियो बनाउन सक्छ । त्यसै गरी सामाजिक सुरक्षा कोष जस्ता कार्यक्रममा स्वतन्त्र पेसाकर्मीलाई पनि समेट्न सकेमा पोर्टफोलियो करियर अझ सुरक्षित र दिगो बन्न सक्छ ।
विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको वर्तमान समयमा करियरको स्वरूप पनि बदलिँदै गएको छ । एउटै जागिरमा निर्भर रहने परम्परागत सोच कमजोर बन्दै जाँदा विभिन्न सिप र अनुभवको संयोजनमार्फत करियर निर्माण गर्ने प्रवृत्ति बढ्दै गएको छ । नेपालमा पनि पोर्टफोलियो करियर युवाका लागि नयाँ अवसर र सम्भावनाको मार्ग बन्दै गएको छ । डिजिटल प्रविधिको विस्तार, विश्वव्यापी श्रम बजारसँगको सम्पर्क र उद्यमशील सोचको विकासले यस प्रवृत्तिलाई अझ बलियो बनाउने छ । यसले केवल व्यक्तिगत करियर निर्माणको तरिका मात्र परिवर्तन गरिरहेको छैन, देशको श्रम बजारलाई पनि थप लचिलो, प्रतिस्पर्धी र नवप्रवर्तनमुखी बनाउने सम्भावना बोकेको छ । युवाहरूले आफ्नो सिप र सिर्जनात्मकतालाई सही ढङ्गले प्रयोग गर्न सकेमा पोर्टफोलियो करियर आर्थिक आत्मनिर्भरता हासिल गर्ने प्रभावकारी माध्यम बन्न सक्छ ।
राज्य, शिक्षा प्रणाली र निजी क्षेत्रले यस परिवर्तनलाई समयमै बुझेर आवश्यक नीति र पूर्वाधार विकास गर्न सके भने पोर्टफोलियो करियरले नेपाली युवालाई आत्मनिर्भर बनाउँदै देशको अर्थतन्त्रलाई पनि नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले भविष्यमा सिपमा आधारित, प्रविधिमैत्री र उद्यमशील अर्थतन्त्र निर्माण गर्नसमेत महìवपूर्ण आधार तयार पार्ने सम्भावना छ ।