कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २३ गते । सिद्धार्थनगरस्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको आरोपमा प्रहरीले १९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ ।
क्यासिनो नियमावलीविपरीत जुवा खेलिरहेको आरोपमा सिद्धार्थनगर–१० स्थित रोयल कालिङ्गा क्यासिनोबाट मङ्गलबार राति प्रहरीले उहाँहरूलाई नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरीको संयुक्त टोलीले जुवा खेलाउने चार र खेल्ने कार्यमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताउनुभयो ।
उहाँका अनुसार सिद्धार्थनगर-६, गल्लामण्डीका अभयकुमार गुप्ता, सिद्धार्थनगर–२ का सुशान्त अधिकारी, सिद्धार्थनगर–१३ का सन्जय शाक्य र ओमसतिया-२ का निर्क्षेद नेपाल रहेका छन् ।
प्रहरीको संयुक्त टोलीले जुवा खेलाउने चार र खेल्ने कार्यमा सङ्लग्न १५ जनालाई नियन्त्रणमा लिएको हो । काठमाडौँका जीवन थापा, रूपन्देहीका आकाश गुप्ता, सुनारी मगर, अब्दुल कलाम जोलहा, अभिषेक शर्मा, शिव पाण्डे, रोहन विक भनिने तिलबहादुर विक, सुरज जयसवाल,निरज गुप्ता, रमेश यादव, निर्मल बस्याल र भरत थापा पक्राउ पर्नुभएको हो ।
त्यस्तै गुल्मीका नेत्र पोखरेल, ललितपुरका बाबुराजा महर्जन र पर्साको वीरगन्ज–७ का जङ्गकुमार अग्रवाल पनि पक्राउ पर्नुभएको छ । उहाँहरूको साथबाट ९५ हजार पाँच सय रुपियाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । रूपन्देहीमा ठुलाठाला गरी करिब एक दर्जन क्यासिनो सञ्चालनमा छन्।
एक महिनाअघि प्रहरीले रूपन्देहीको मणिग्रामस्थित सिएमजी क्लब क्यासिनोमा छापा मारेर जुवा खेलेको र खेलाएको आरोपमा नेपाली नागरिक पक्राउ गरेको थियो ।