• ९ चैत २०८२, सोमबार

बसाइँसराई र युवा पलायन रोक्न जनतालाई उद्यमसंग जोड्नुपर्छ

blog

धनगढी, चैत ९ गते । विसं २०४८ देखि २०७९ सम्मका सातैवटा चुनाव जितेको नेपाली कांग्रेसको ३४ वर्षदेखिको पुरानो डडेल्धुरा जिल्लाको किल्ला यसपटकको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तोडिन पुगेको छ । यसपटक भने रास्वपाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. ताराप्रसाद जोशीले १९ हजार १३१ मत ल्याएर निर्वाचित हुनुभएको छ  ।  

सुदूरपश्चिममा राजनीतिज्ञ, बौद्धिक, कृषि आधुनिकीकरण र आर्थिक रूपान्तरणको स्पष्ट खाका भएको व्यक्तित्व र प्रदेश सभा सदस्यको रुपमा चिनिनु भएका डा. जोशी, नेपालको राजधानी काठमाडौँदेखिका मुख्य सहरमा भने विभिन्न पत्रपत्रिकाका स्तम्भकारका रुपमा परिचित हुनुहुन्थ्यो । यद्यपी सहरका प्राज्ञिक र बौद्धिक क्षेत्रका अगुवाकाबीचमा भने उहाँलाई बौद्धिक व्यक्तिको रुपमा चिन्ने गरिएको थियो ।

यसपटक उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार भएर कांग्रेसको किल्ला भत्काउदै जीत हासिल गरेर चर्चा कमाउनु भएको हो । डडेल्धुराबाट  विसं २०४८ देखि २०७९ सम्म लगातार सातपटक कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जित्दै आउनु भएको थियो । यसपटक भने डा. जोशीले कांग्रेसका नैनसिंह महरलाई सात हजार १० मत अन्तरले हराउन सफल हुनुभयो । डा. जोशीले १९ हजार १३१ मत ल्याएर विजयी हुँदा महरले १२ हजार १२१ मत प्राप्त गर्नु भएको थियो ।

बहुदलपछि नेकपा (एमाले ) का विभिन्न कमिटीमा सक्रिय हुनु भएका डा. जोशी २७ वर्षको उमेरमा २०५४ सालमा एमालेको डडेल्धुरा प्रमुख हुनु भएको थियो त्यसपछि उहाँ २०७९ मा जिल्ला अध्यक्ष हुनुभयो । २०७४ मा एमालेको उम्मेदवारका रुपमा झिनो मतले प्रदेश सभामा पराजित हुनु भएका डा. जोशी २०७९ मा भने स्वतन्त्र उम्मेदवार भएर प्रदेश सभामा निर्वाचित हुनु भएको थियो । उहाँ २०७० को संविधान सभा सदस्य निर्वाचनमा पनि एमाले उम्मेदवार भएर पराजित हुनु भएको थियो ।

यसपटक प्रदेश सभाबाट राजीनामा गरेर उज्यालो नेपाल पार्टी हुँदै रास्वपामा समाहित भएर उहाँले सोही दलबाट डडेल्धुराको उम्मेदवार बन्नु भएको थियो ।

डा. जोशी गरिबी अन्त्य गर्नका लागि पञ्चायतको अन्त्य हुनु पर्छ भन्ने सोच आफूमा स्वतस्फूर्त आएर राजनीतिमा होमिएको बताउनुभयो । त्यही धारणाले १९ वर्षको उमेरमा २०४६ सालको बहुदल ल्याउने संघर्षमा कैलालीमा पढ्दापढ्दै होमिएको उहाँले सम्झिनुभयो ।

सुदूरपश्चिम प्रदेशका आठ वटा निर्वाचन क्षेत्रमा रास्वपाको चुनाव चिन्ह घण्टीले लहर ल्याउँदा पहाडमा भने त्यस्तो प्रभाव नदेखिएको अवस्थामा डडेल्धुरामा कसरी जीत सम्भव भयो भन्ने गोरखापत्रको प्रश्नमा उहाँले घण्टीको लहरले आफ्नो समर्थन अन्तिमसम्म पनि कायम रहनु, दृष्टीकोण अनुसार नै काम गर्ने व्यक्ती हो भन्ने जनताको बुझाइले आफ्नो जीत भएको बताउनुभयो । विगतका चुनावमा शुरुमा आफ्नो पक्षमा माहोल हुने गरे पनि अन्तिममा बिग्रने अवस्थामा यसपटकको चुनाव चिन्ह घण्टीले गर्दा रोकिएको उहाँले बताउनुभयो ।

भारतको नयाँदिल्लीमा रहेको जवारलाल नेहरु युनिभर्सिटीबाट अन्तराष्ट्रिय राजनीति तथा कुटनीतिक सम्बन्धमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि गर्नु भएका डा. जोशीले रोजगारी सिर्जना गर्न उद्यम गर्नुपर्छ भन्ने सोच राख्नुहुन्छ । त्यही सोचले गर्दा उहाँकै नेतृत्वमा फारवेष्ट एग्रो जाइन्ट लि, स्थापना गरिएको छ । सो उद्योगले डडेल्धुरामा सोया, तेल, दूध, साबुन, प्यालेट लगायत कृषि उत्पादन प्रशोधन गर्ने उद्देश्यसहित परीक्षण उत्पादन सुरु गरेको छ । भने अजयमेरु गाउँपालिकामा प्रदेश र संघ सरकारसंग पहल गरेर आठ हजार अनार रोप्न लगाउनु भएको छ । अनारलाई फैलाउन सके सुदूरपश्चिमको माग पहाडबाटै पूरा हुने उहाँ बताउनुभयो । 

बसाइँसराईले पहाडका वस्ती खाली हुन थालेको र त्यसलाई रोक्न जनतालाई उद्यमसंग जोड्नु पर्ने , वनपैदावरलाई सदुपयोग गर्नुपर्ने र पश्चिमसेती विद्युत आयोजना बनाउनु पर्ने धारणा उहाँले प्रदेश सभाको बैठक विभिन्न सभा, सम्मेलनमा राख्दै आउनु भएको छ । 

उहाँले युवा पलायन रोक्नका लागि पनि एक पालिका एक उत्पादन कार्यक्रम, सूचना प्रविधि सम्बन्धी काम अघि बढाउनका लागि प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य डा. जोशीले भारतसंग पञ्चेश्वरमा जलविद्युत आयोजना बनाउने सहमति भएको ३० वर्ष भइसकेकाले कि त्यो पूरा गर्नु पर्ने, कि नयाँ तरिकाले अघि बढाउनु पर्ने एजेन्डा प्रमुख रुपमा उठाउने बताउनुभयो ।