• १६ चैत २०८२, सोमबार

‘कृषिको आधुनिकीकरणसँगै उद्योग स्थापनाको नीति आवश्यक’

blog

धनगढी, चैत १६ गते । कञ्चनपुर क्षेत्र नं. ३ अन्तर्गतको वेदकोट नगरपालिका–२, जडेपानीमा जन्मनुभएका ४६ वर्षीय कृपाराम राना स्कुल जीवनदेखि नै राजनीतिमा चासो राख्ने गर्नुहुन्थ्यो । १५ वर्षको उमेरमा राना नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुमा लाग्नुभएको थियो ।  पढाइसकेपछि उहाँले शिक्षण पेसा रोज्नुभयो । १३ वर्ष निजी र राहत शिक्षक भएर काम गर्नुभयो । पछि उहाँको निम्न माध्यमिक विद्यालय तहको स्थायी शिक्षक पदमा नाम निस्केको केही समयपछि नै त्यसलाई छोडेर राजनीतिमा होनिनुभयो । 

उहाँ २०७० सालमा संविधान सभा सदस्य बन्नुभयो । त्यसयता उहाँ लगातार राजनीतिमा  सक्रिय रहँदै आउनुभएको छ ।  नेकपा (एमाले) को १० औँ र ११ औँ महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । त्यस्तै २०७९ मा प्रदेश सभाका लागि उम्मेदवार हुँदा उहाँले थोरै मतले पराजय भोग्नु परेको थियो । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि भने उहाँ नेकपा (एमाले) को  समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।

महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसबाट स्नातकोत्तर उत्तीर्ण गर्नुभएका उहाँले निजी र राहत शिक्षक हुँदा बुद्धिजीवी परिषद्, शिक्षक सङ्गठनको जिल्ला कार्यसमिति सदस्य हुँदै एमाले जिल्ला कमिटीमा समेत काम गर्नुभएको थियो । रानाले २०७० मा संविधान सभा सदस्य भएपछि आदिवासी जनजाति महासङ्घको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र लोकतान्त्रिक थारू सङ्घको केन्द्रमा बसेरसमेत काम गर्नुभएको अनुभव छ  । यस्तै उहाँसँग रेडक्रस, सामुदायिक वन महासङ्घ जस्ता सामाजिक संस्थामा पनि काम गरेको अनुभव छ । 

२०७६ मा उहाँ  रानाथारू समाजको केन्द्रीय अध्यक्ष पनि हुनुभयो । संविधान सभाका साथै रानाथारू समाजमा हुँदा राना समुदायको सूचीकरण, जनसङ्ख्या गणनामा समावेश, रानाथारू भाषा सूचीकरण, रानाको होली पर्वको अन्तिम दिन खख्डेहरामा प्रदेशमा सार्वजनिक बिदा, पालिकामा बडघर तथा भलमनसा कार्यविधि, प्रज्ञा–प्रतिष्ठानको सहयोगमा राना समुदायको शब्दकोशको निर्माण जस्ता महत्वपूर्ण काम गरेको उहाँले स्मरण गर्नुभयो । 

आफूले गरेका कामकै कारण एमालेले पटक पटक पार्टी र संसदीय काममा खटाएको बताउनु हुने राना अझै पनि राना समुदायको अधिकारका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रतिनिधि सभामा थारूलाई ६.६ प्रतिशत आरक्षणको व्यवस्था गरे जस्तै गरेर प्रदेश, स्थानीय तह, सेना, प्रहरी, लोक सेवा र शिक्षकमा पनि आरक्षण दिने गरेर कानुनी पूर्णता दिन जरुरी छ । 

रानाको संस्कृति, परम्पराको संरक्षणका लागि भाषा संरक्षण मुख्य विषय भएको बताउँदै उहाँले राना जस्तै पछाडि परेका वर्गलाई पढ्ने र रोजगारीका लागि प्रतिस्पर्धी क्षमताको बनाउने गरेरसमेत काम गर्न आवश्यक भएको बताउनुभयो । नेता रानाले समग्र शिक्षा क्षेत्र व्यवस्थित बनाउनुपर्नेमा पनि जोड दिनुभयो ।  प्रतिनिधि सभा सदस्य रानाले विगतमा सुरु भएका दोधाराचाँदनीको सुक्खा बन्दरगाह, दैजीछेला औद्योगिक क्षेत्र, पालिकास्तरका १५ शøयाका अस्पताललाई सेवा दिने गरेर पूरा गर्नुपर्नेमा पनि आफूले ध्यान दिने बताउनुभयो ।  

उहाँले कञ्चनपुरको खेतीयोग्य जमिन जोगाउन विभिन्न नदी तथा खोलानालामा तटबन्ध बनाउनुपर्ने, भूमिहीन, सुकुमवासी र ऐलानी जग्गालाई लालपुर्जा दिनुपर्ने गरेर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै गरेर शुक्लाफाँटा वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा जङ्गली जनवारले धनजनमा क्षति पु¥याउने गरेकोले निकुञ्ज ऐन जनमैत्री बनाउन पहल गर्ने पनि बताउनुभयो । मध्यमवर्गीय किसान परिवारमा जन्मनुभएका राना अहिले पनि मौका मिल्दा खेतीपातीको काममा रमाउने गर्नुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “कैलाली र कञ्चनपुरमा ९० प्रतिशत रानाथारू कृषिमा संलग्न छन् । अहिलेको कृषिमा एक जनाले गर्ने काम १० जनाले  गर्नु परेको छ ।  त्यसैले सिँचाइ निःशुल्क गरेर कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण र बजारीकरणको ग्यारेन्टी गर्दै उद्योगसँग जोड्ने नीति आवश्यक छ । 

उहाँ जनतालाई जीविकोपार्जन गर्ने खेतीबाट माथि उठाउँदै व्यावसायिक कृषिसँगै उद्योग सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ ।