धनगढी, चैत १४ गते । भरतकुमार स्वाँरले २०३४ सालमा बिपी कोइरालाबाट नेपाली कांग्रेसको सदस्यता लिनुभयो । निरङ्कुश पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएका स्वाँर उक्त अवसर पाउनु आफ्नो शौभाग्य भएको बताउनुहुन्छ । राजनीतिक यात्राको ४६ वर्षपछि यस पटक अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभयो । उहाँले १० हजार ७५९ मत प्राप्त गर्नुभएको थियो । अछाममा स्वाँर जब्बर राजनीतिज्ञ मानिनुहुन्छ । उहाँको जीवनयापन निकै साधारण र सरल किसिमको छ । प्रतिनिधि सभा सदस्य स्वाँर संसद् अधिवेशन र अरू काम विशेषले काठमाडौँमा रहनुपर्नेबाहेक अधिकांश समय विगतमा झैँ अछामी जनतामाझ नै बिताउने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अछामी जनतालाई कुनै किसिमको अन्याय र पीरमर्का नपरोस् भन्नेमा म सधैँ लागिपर्ने छु ।”
यस पटकको निर्वाचनमा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र चुनाव चिह्न घण्टीको लहर चलेको बेला यहाँको जित कसरी सम्भव पार्नुभयो भन्ने गोरखापत्रको प्रश्नमा नेता स्वाँर भन्नुहुन्छ, “अछाममा कांग्रेसले कांग्रेसलाई सहयोग गरेको अवस्थामा कहिल्यै हार्नु पर्दैन । अहिले पनि केही ठुला नेताले म र क्षेत्र नम्बर २ का उम्मेदवार पुष्पकुमार शाहलाई हराउन निर्देशन दिएको भेटेको छु । अन्तर्घातका बिचमा मैले त जितेँ,” तर पुष्पजीले थोरै मतले पराजित हुनुप¥यो ।”
स्वाँरको राजनीति जीवन ठुलो रुखको छायामा हुर्केको बिरुवा जस्तै छ । पञ्चायती शासनकालमा उहाँका दाजुहरू नैनबहादुर स्वाँर र नृपबहादुर स्वाँरको राजदरबारमा राम्रै पहुँच थियो । त्यो बेला उहाँलाई पनि अनेक पद र प्रतिष्ठा प्राप्त गर्न सक्ने सहज अवस्था थियो । उहाँ भन्नुहुन्छ, “त्यसलाई अस्वीकार गरेर आफ्नै राजनीतिक आस्था बहुदलीय प्रजातन्त्र ल्याउन लडे । त्यही मूल्यमान्यता, आदर्श, सिद्धान्त र साहसको मूल्याङ्कन गरेर यस पटक अछामी जनताले प्रतिनिधि सभा सदस्य जस्तो गौरवको पदमा पुगाएका छन् ।”
नेता स्वाँर २०४९ मा नेपाली कांग्रेसबाटै जिल्ला विकास समितिको सभापति बन्नुभएको थियो । उहाँ कांग्रेसको अछाम जिल्ला सभापतिसमेत रहिसक्नुभएको छ । बाल्यकालदेखि निकै मेहनती स्वाँरले सानो उमेरदेखि पसल (चिया पसल) समेत सञ्चालन गर्नुभयो । उहाँको राजनीतिक जीवनमा पञ्चायतकालको उत्तराद्र्धको निकै महत्व छ । २०४३ सालमा तत्कालीन प्रतिबन्धित नोपली कांग्रेसले पञ्चायतको आउटपोस्ट कब्जा गर्ने रणनीति अपनायो । स्थानीय निर्वाचनमा सहभागी बन्यो । स्वाँर पनि जिल्ला पञ्चायत सदस्य निर्वाचित हुनुभयो । त्यतिबेला अछाम वैध, अवैध मदिरा उत्पादन र सेवनले आक्रान्त थियो । सानै उमेरदेखि निकै साहसी र एकलव्य भावले काम गर्ने स्वाँरले मदिरा निषेधको बिँडो उठाउनुभयो । आफ्नो निर्वाचन क्षेत्रका तत्कालीन स्थानीय जनप्रतिनिधिको सहकार्य र समन्वयमा २०४३ सालमा उहाँले मदिरा निषेधित जिल्ला घोषणा गराउने अभियान सुरु गर्नुभयो । निकै सङ्घर्षपछि अन्ततः अछाम मदिरा निषेधित जिल्ला घोषणा भयो । २०४६ सालको परिवर्तनको धेरै समयपछिसम्म पनि मदिरा निषेध रह्यो ।
स्वाँरले २०३६ सालको जनमतसङ्ग्रहदेखि हरेक आन्दोलनमा सक्रियतापूर्वक भूमिका निर्वाह गर्नुभयो । प्रजातन्त्र पुनस्र्थापनको आन्दोलनका क्रममा उहाँले बाजुरा र अछामका कारागारमा केही वर्ष जेल जीवन बिताउनुभएको थियो ।
उहाँ जिल्ला विकास समिति सभापति हुँदा स्थापना गरेको जनता क्याम्पस, बयालपाटा, १४८ वटा प्राथमिक, निम्न माध्यमिक तथा माध्यमिक विद्यालय र तीनको स्तरोन्नति, जिल्ला सडक गुरुयोजना निर्माण तथा सडक निर्माणको सुरुवात र लोकसेवा आयोगबाट स्वीकृति लिएर ६५ जना शिक्षक दरबन्दी सिर्जना गरेर स्थायी नियुक्ति जस्ता कार्य अछामी जनताले स्मरण गर्ने गर्छन् । स्वाँरले जिविस सभापति हुँदा ७५ वटै गाविसमा स्वास्थ्य चौकी स्थापना, कैलाश खोला साना जलविद्युत् आयोजना, महिला, दलित तथा पिछडिएका वर्गका लागि साक्षरता अभियान, बालअधिकार तथा छाउपडी कुप्रथाविरुद्ध अभियान, ७५ गाविसमा ७५ सहायक प्राविधिक दरबन्दी र ५८५ जनालाई अस्थायी रोजगारी जस्ता काम पनि गर्नुभएको थियो ।
पहिलो पटक सङ्घीय संसद्मा पुग्नुभएका स्वाँर सेती लोकमार्ग, बुढीगङ्गा हाइड्रो, बयालपाटा अस्पताल, रामारोशन, खप्तड, बडीमालिका जस्ता पर्यटकीय क्षेत्रको पूर्वाधार विकासलगायतका योजनामा केन्द्रित रहने बताउनुहुन्छ । बसाइँसराइका दृष्टिकोणले अछाम पनि निकै समस्याग्रस्त छ । उहाँ भन्नुहुन्छ, “जिल्लामै स्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीको व्यवस्था गर्न सकियो भने केही हदसम्म बसाइँसराइ रोक्न सकिन्छ ।”
निर्माणाधीन सेती लोकमार्ग, बयालपाटा अस्पतालको स्तरोन्नति, स्तरीय विद्यालय र क्याम्पस तथा केही कृषि र वन सम्पदामा आधारित उद्योगको स्थापनाले अछाममा रोजगारी सिर्जना तथा बसाइँसराइ कम गर्न सकिने उहाँको विश्वास छ । चुनावी अभियानमा उहाँले साँफे विमानस्थलको नियमित सञ्चालनको वाचा पनि गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “अहिले हामी प्रतिपक्षमा छौँ तर अछामी जनताको प्रतिनिधिका रूपमा जनताको माझमा रहेर आफ्नो सामथ्र्य अनुसार इमानदार भएर काम गर्ने छु ।”