• ११ चैत २०८२, बुधबार

‘विगतका अधुरा काम पूरा गर्न पहल गर्छु’

blog

धनगढी, चैत ११ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य यज्ञबहादुर बोगटी अछाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँ नौ हजार ५१८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँ २०७४ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पनि विजयी हुनुभएको थियो । बोगटी मङ्गलसेन नगरपालिका–३, लाछिमनाका स्थायी बासिन्दा हुनुहुन्छ । २०४६ सालको आन्दोलनबाट राजनीतिक चेत खुलेको बताउने बोगटीले २०४७ सालमा विद्यार्थी राजनीति सुरु गर्नुभएको थियो । उहाँ अछाम सदरमुकाम मङ्गलसेनकै षोडशा माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सचिवको जिम्मेवारी समाल्दै सो सङ्गठनको केन्द्रसम्म पुग्नुभयो ।

लामो समयसम्म एमालेको जिल्ला कमिटी सदस्यको भूमिका निर्वाह गर्दै बोगटी २०६५ सालदेखि लगातार दुई पटक जिल्ला सचिव भई जिम्मेवारी पूरा गर्नुभयो । पार्टीको १० र ११ औँ महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्य चयन हुनुभयो ।

अछाममा असल, इमानदार र वैचारिक रूपमा स्पष्ट नेताको छवि बनाएका बोगटी राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । उहाँ २०७४ मा प्रतिनिधि सभा सदस्य रहँदा सङ्घीय संसद्मा अछाम क्षेत्र नं. २ को विकास र जनजीविकाका मुद्दालाई प्रखर रूपमा उठाउनु साथै समग्र सुदूरपश्चिमको विकासका लागि नीति निर्माण र बजेट विनियोजनमा सङ्घीय सरकारलाई निरन्तर दबाब दिने गर्नुहुन्थ्यो । 

उहाँ २०७४ मा प्रतिनिधि सभा सदस्य हुँदा सुदूरपश्चिममा सडक सञ्जाल विस्तार, खानेपानी आयोजना निर्माण, कृषिमा आधुनिकीकरण, सञ्चार सुविधाको पहुँच र पर्यटन प्रवर्धनका लागि उल्लेख्य काम गरेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अँध्यारोमा रहेका गाउँबस्तीलाई उज्यालो बनाउन विद्युत् विस्तारको कामलाई अभियानकै रूपमा अगाडि बढाउन म सफल भएँ ।” 

बोगटी शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा आमजनताको पहुँच पु¥याउन सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी भूमिका आवश्यक पर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा जस्तै सबैसँग समन्वय गरेर यहाँको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ ।”

तराई क्षेत्र र अधिकांश पहाडमा समेत राष्ट्रिय स्वतन्त्र पार्टीकोे लहर चल्दा पनि सुदूरपश्चिम पहाडका आठमध्ये छ वटा क्षेत्रमा नेपाली कांग्रेस र एमाले विजयी भएका छन् । आफूले विगतमा गरेका राम्रा काम सम्झेर नै जनताले आफूलाई पुनः विश्वास गरेको उहाँको भनाइ छ । उहाँ विपत् र कोभिड–१९ जस्ता महामारीका समयमा पनि जनताका पक्षमा निकै काम गरेकाले जनताले सम्झिरहेको बताउनुहुन्छ । बोगटी आफूले सुरु गरेको तर पूरा हुन बाँकी कामलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “बेरोजगारी र तीव्र बसाइँसराइ रोक्नका लागि सङ्घीय सरकारले प्रभवाकारी नीति बनाएर रोजगारी सिर्जना गर्नु पर्छ । त्यसका लागि हामी संसद्मा निरन्तर दबाब सिर्जना गर्ने छौँ ।” 

बढ्दो बेरोजगारी र युवा पलायन रोक्न गाउँमै रोजगारीमूलक कामको थालनी र शिक्षा एवं स्वास्थ्य उपचारको विश्वासिलो व्यवस्था भए मात्र बसाइँसराइ रोक्न सकिने उहाँको भनाइ छ । 

नेता बोगटी अछाम, सुर्खेत र कैलाली जोड्ने जङ्गलघाट पुल र कालेकाँडा सडक बनाउन आफूले पहल गर्ने पनि बताउनुहुन्छ । उहाँले क्षेत्र नं. २ का पाँचै वटा पालिका कमलबजार, मङ्गलसेन, पञ्चदेवल नगरपालिका, ढकारी र तुर्माखाद गाउँपालिकामा आवश्यकता अनुसारका विकास र स्थानीय उत्पादनमा जोड दिन समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।