काठमाडौँ, चैत ९ गते । भारत नेपाल साहित्य सम्मेलनमा ममता मृदुललाई सम्मान तथा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । ममता मृदुललाई महावीर प्रसाद द्विवेदी हिन्दी विश्व विद्यालय एवं सोध संस्थान, रायबरेलीद्वारा मानार्थ विद्यावारिधि लगायत विविध शीर्षकमा सम्मान प्रदान गरिएको हो ।
साहित्य सम्मेलनमा सहभागी सबैलाई प्रतीक चिह्न र प्रशंसासहित प्रमाणपत्र प्रदान गरिएको थियो । वाराणासीको दुध कुण्डस्थित पोद्दार भवनमा प्रगति साहित्य मञ्च भारत र चारु साहित्य प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा आयोजित तीन दिवसीय भारत नेपाल साहित्य एवम् संस्कृति मैत्री सम्मेलनमा नेपालबाट तीन दर्जन साहित्यकारको सहभागिता रहेको थियो ।

प्रगति साहित्य मञ्चका अध्यक्ष डा. हरेन्द्र हर्षले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षको भूमिकामा बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डा. घनश्याम परिश्रमी र प्रमुख अतिथिको भूमिकामा चारु साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष डा. देवी पन्थी रहनुभएको थियो । प्रमुख अतिथिले दीप प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा सरस्वती बन्दना, नेपाल र भारतका राष्ट्रिय गान, पुस्तक विमोचन र शुभकामना मन्तव्य राखिएका थिए ।
नेपाली चेली ममता मृदुल र सुजाता राई र राधिका पन्थीले नेपालको झण्डा बोकेर नेपाली गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रारम्भ हुनुपूर्व चारु साहित्य प्रतिष्ठानको तर्फबाट अक्षेता टीका लगाइदिएर नेपाली र भारतीय साहित्यकारलाई स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा ममता मृदुलको नेतृत्वमा नेपाली हिन्दी लघुकथा सत्र सञ्चालन गरिएको थियो । विनोद नेपाल अध्यक्ष रहेको कार्यक्रममा चारु साहित्य प्रतिष्ठानका सचिव खगेन्द्र भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा डा. शिवपाल शिव, अतिथिमा इनु पौडेल र परमेश्वरी विष्ट रहनुभएको थियो ।
कार्यक्रममा रमेन्द्र कोइरालाको साङ्लो लघुकथासङ्ग्रहको लोकार्पण गरिएको थियो । समीक्षक रामकुमार पण्डितले साङ्लो लघुकथासङ्ग्रहको समीक्षा गर्नुभएको थियो । दुई घण्टा चलेको उक्त कार्यक्रममा ममता मृदुल, काठमाडौँ, शारदा शर्मा ,विराटनगर, रामकुमार पण्डित क्षेत्री काठमाडौँ, रमेन्द्र कोइराला, इनरुवा सुनसरी, विनोदकुमार नेपाल पाल्पा, सुमित्रा अर्याल, काठमाडौँ, रोशन पराजुली धरान सुनसरी, रन्जु खनाल काठमाडौँ, शिव त्रिपाठी पोखरा, कृष्ण मर्सानी पोखरा र भारतीय लघुकथाकारले लघुकथा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपालको तर्फबाट चारु र गजल प्रस्तुत गर्नेमा डा. घनश्याम परिश्रमी, नवलपरासी, राधा न्यौपाने, नवलपरासी, देवी पन्थी, विराटनगर, राधिका पन्थी शर्मा, विराटनगर, मेघनाथ खनाल, दमक, श्रीमती उमादेवी खनाल दमक, पोम रेग्मी तेह्रथुम, लक्ष्मी भण्डारी काठमाडौँ, सुजाता राई विराटनगर, खगेन्द्र भट्टराई विराटनगर, टीकादेवी विराटनगर, इन्दिरादेवी खनाल दमक, विन्दु दाहाल मूकदर्शक, दमक, यादव झाँक्रीखोले,दमक, वेदप्रसाद रिजाल, इलाम, तेज कुमारी खनाल, इलाम, चेतन अन्जान,इलाम, यज्ञलाल सुवेदी, बुटवल, सोमकला,बुटवल, राजेन्द्र कुमार बज्राचार्य, काठमाडौं,इनु पौडेल-काठमाडौँ, परमेश्वरी विष्ट-काठमाडौँका साथै एक दर्जन भारतीय चारुकार एवम् गजलकारले रचना वाचन गरेका थिए ।
