• ९ चैत २०८२, सोमबार

एन्फाका कारण क्लबको लगानी जोखिममा

blog

पत्रकार सम्मेलनमा धारणा राख्दै संकटाका अध्यक्ष इन्द्रमान तुलाधर ।

काठमाडौँ, चैत ९ गते । संकटा फुटबल क्लबले रोकिएको राष्ट्रिय लिग र फुटबल प्रतियोगिता छिटो सञ्चालन गर्न माग गरेको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष इद्रमान तुलाधरले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रतियोगिता स्थगित गर्दा लगानी जोखिममा परेको बताउनुभयो । 

यही चैत ५ गते अध्यागमन विभागले श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई सहभागी नगराउन एन्फालाई पत्राचार गरेपछि  एन्फाले काठमाडौँमा जारी राष्ट्रिय पुरुष लिग र शहिद स्मारक महिला फुटबल लिग अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित गरेको थियो ।  

अध्यक्ष तुलाधरले क्लबले पुरुष लिगका लागि ७० लाख र महिला लिगका लागि ८० लाख रुपियाँ खर्च भएको पनि बताउनुभयो । संकटाले  आफ्नो क्लबमा विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रिया पूरा गरी एन्फलालाई बुझाएको पनि अध्यक्ष तुलाधरको भनाइ छ ।

तुलाधर आफै एन्फाको प्रमुख कार्यकारी अधिकृत (सिईओ) समेत हुनुहुन्छ । हालको आर्थिक भार, प्रतियोगिता अनिश्चित तथा व्यवस्थापनमा देखिएको चुनौतीले क्लबलाई प्रत्यक्ष असर परेको छ, तुलाधरले भन्नुभयो ।  

क्लबले सम्बन्धित निकाय तथा सरोकार पक्षले विशेष ध्यान दिन आवश्यक रहेको पनि जनाएको छ । प्रतियोगिता यथाशीघ्र सञ्चालन गर्न, विदेशी खेलाडीको श्रम स्वीकृति तत्काल प्रदान गर्न माग पनि गरेको छ ।