काठमाडौँ, चैत ९ गते । नेपालकी कराते स्टार एरिका गुरुङ तमु धी सङ्घ यूकेको सद्भावना दूत नियुक्त हुनुभएको छ ।
एरिकालाई सोमबार बेलायतस्थित तमु धी सङ्घ यूकेले आफ्नो सद्भावना दूत नियुक्त गरेको हो । काठमाडौँमा आयोजित कार्यक्रमबिच सङ्घ र एरिकाबिच सम्झौता भएको छ ।
सम्झौताअनुसार एरिकालाई विश्व कराते महासङ्घ (डब्लूकेएफ) र एसियाली कराते महासङ्घ (एकेएफ) द्वारा आयोजित चारवटा आधिकारिक प्रतियोगितामा सहभागिता जनाउन हवाइ टिकट उपलब्ध गराउने छ ।
यस्तै एरिकालाई यूएस ओपन, अस्ट्रेलियन ओपन, रसियन ओपन र थाइल्यान्ड ओपनमध्ये कुनै एक विश्वस्तरीय प्रतियोगितामा भाग लिन हवाइ टिकट उपलब्ध गराउने, प्रतियोगितामा भाग लिन जाँदा थप पाँच सय अमेरिकी डलर दिने र तमु धी यूकेले संस्थाको लोगोसहितको खेल पोशाक उपलब्ध गराउने पनि उल्लेख छ ।
२२ वर्षीया एरिका नेपाललाई एसियाली खेलकुद प्रतियोगितामा ऐतिहासिक रजत, डब्लूकेएफ कराते वान प्रिमियर लिगमा रजत र एसिएन कराते च्याम्पियनसिपमा पनि रजत पदक दिलाउने खेलाडी हुनुहसन्छ ।
आफुले खेलेका हरेक प्रतियोगितामा कुनै न कुनै पदक दिलाउन सफल एरिकालाई नेपाल कराते महासङ्घले ‘हिमालयन वारियर’ उपनाम दिएको छ ।