• ९ चैत २०८२, सोमबार

रास्कोटले बढायो पशुपन्छी उपचार शुल्क

blog

रास्कोट नगरपालिकाको कार्यालय । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत ९ गते । जिल्लाको रास्कोट नगरपालिकाले कृषि र पशुपालनमा सेवा शुल्क बृद्धि गरेको छ । कृषि र पशुपालनमा राम्रो हावापानी भएको रास्कोट नगरपालिकाले पशुपन्छी सेवा शुल्क थप गर्ने निर्णय गरेको हो । 

पशुु शाखाको प्रस्तावमा नगरपालिकाले आन्तरिक राजस्व सुधारका लागि भन्दै पशु बन्ध्याकरण, घाउ ड्रेसिङ, पशुको बच्चा अड्केको, थुनेल परीक्षण लगायतका शीर्षकमा शुल्क निर्धारण गरेको छ । 

प्राप्त विवरणअनुसार प्रतिथुमा, बोका बन्ध्याकरणको ५० रुपियाँ, राङ्गा साढेको १०० रुपियाँ, कुकुर विरालो बन्ध्याकरण वापत २ सय ५०, घोडा खच्चड पाँचसय, सुगुर बंगुर बन्ध्याकरण वापत ३ सय ५० शुल्क लाग्ने उल्लेख छ । 

त्यस्तै, राँगो भौसीको घाउ ड्रेसिङको तीनसय ५०, गाई गोरु दुईसय ५०, बंगुर सुंगुर दुईसय, कुकुर विरालो, दुईसय, भेडा बाख एकसय, जंगली जनवारको पाँचसय, सबैखाले जंगली पन्छीको ५०, सबै खाले घरपालुवा पन्छीको २० रुपियाँ शुल्क तोकिएको छ । 

१७ औँ नगरसभाबाटै निर्णय गरिएको शुल्क बृद्धिमा भँैसीको बच्चा अड्केको एक हजार पाँचसय, गाई पाँचसय, भेडा बाख चारसय शुल्क लिने उल्लेख छ । गाई भैसीको गोबर परीक्षण ५०, भेडा बाख्राको २०, सुगुर बंगुर ३०, सबै खाले पन्छीको गोबर परीक्षण वापत १० रुपियाँ तोकिएको छ । 

नगरसभाले गाई भैसी, राँगा, भेडा, बाख्रा, कुकुर, विरालो, सुगुर बंगुर, पन्छीलगायतको नमूना परीक्षणको पनि न्यूनतम १० देखि अधिकतम दुईसय ५० सम्म शुल्क निर्धारण गरेको छ । रास्कोट नगरपालिकामा दुईवटा ब्यावसायिक कालिज फर्म छन् । सबै वडामा घरपालुवा पशुपन्छी छन् । कृषकलाई निःशुल्क सेवा दिनुपर्ने नगरपालिकाले चर्को शुल्क निर्धारण गरेको कृषक जय तिरुवाले बताउनुभयो । 

एमाले नेता दयाराम सिम्खाडाले नागरिकलाई करको मारमा पार्ने मात्र स्थानीय सरकारको काम नभएको बताउनुभयो । बार्षिक राजस्व बृद्धि देखाउन किसानमाथि कर बढाउनु राम्रो नभएको उहाँको भनाइ छ ।