• ९ चैत २०८२, सोमबार

पूर्वी नेपालमा ‘जाउँ है पोखरा’ अभियान सुरु

blog

जाउँ है पोखरा अभियानका लागि पूर्वी नेपाल प्रस्थान गर्ने क्रममा पोखरेली पर्यटन व्यवसायी ।

रमेश पौडेल

पोखरा, चैत ९ गते । २१ औं फेवा नव वर्ष महोत्सवलाई लक्षित गरी पोखराको पर्यटन व्यवसायीहरूको टोली यस पटक ‘जाउँ है पोखरा’ अभियानका लागि पूर्वी नेपाल प्रस्थान गरेका छन् ।

आन्तरिक पर्यटन प्रवर्धनको मुख्य उद्देश्यसहित रहेको सो अभियान पूर्वी नेपालको विभिन्न सहरमा पुग्ने होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

चैत ९ देखि १३ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत वीरगन्ज, विराटनगर, पशुपतिनगर, इलाम हुँदै पुनः हेटौँडा आएर प्रवर्धन गरिने उहाँले बताउनुभयो । पोखराको होटलकर्मी, पर्यटन व्यवसायी र सञ्चारकर्मी संलग्न हुने अभियान अन्तर्गत पत्रकार सम्मेलन, छलफल र अन्तरक्रिया, प्रचार सामग्री वितरण र आन्तरिक पर्यटनको प्याकेज सार्वजनिकजस्ता गतिविधि समेटिने सङ्घका उपाध्यक्ष भरत पहारीले बताउनुभयो ।

पोखरामा आयोजना हुने महोत्सवमा सहभागिताका लागि पूर्वी नेपालको बासिन्दालाई निमन्त्रणा प्रदान गर्ने अभिप्राय पनि अभियानले लिएको उहाँको भनाइ छ । सो अभियानमा १५ जनाभन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ । होटल सङ्घ पोखरा नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा हुने यस अभियानलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सघाएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरा पर्यटनको राजधानी रहेको र यो सहरलाई पर्यटकको पहिलो रोजाइको गन्तव्य बनाउन अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा धेरैभन्दा धेरै पर्यटक भित्र्याइ उनीहरूको बसाइँ अवधि लम्ब्याएर बसाइँलाई थप रमाइलो बनाउन फेवा नव वर्ष महोत्सव सहयोगी हुने उहाँले बताउनुभयो । पोखरा पुग्न चाहने पर्यटकलाई यहाँ निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले थप सहजता थपेको लामिछानेले स्मरण गर्नुभयो ।

आन्तरिक पर्यटन प्रवर्धन नै दिगो पर्यटनको मूल आधार हो भन्ने मान्यता बोकेर २२ वर्षअघि सुरु गरिएको यो अभियानको प्रभाव सकारात्मक पर्दै गएपछि यसलाई सङ्घले निरन्तरता दिएको सङ्घकी सचिव पार्वती पाण्डेले बताउनुभयो । हवाई र स्थल कनेक्टिभिटिको विस्तार गर्दै पूर्वी नेपाल र पोखराविच पर्यटक तथा व्यवसायको आदान–प्रदान गर्ने महत्त्वपूर्ण उद्देश्य पनि अभियानले लिएको छ ।

यसका लागि विगतमा पोखराबाट भद्रपुर र विराटनगरजस्ता सहरसम्म सञ्चालित सिधा हवाइ सेवालाई पुनः नियमितता प्रदान गर्न र ती सहरबाट पोखरासम्म स्तरीय पर्यटक बस सेवा सञ्चालनका लागि समेत सङ्घले पूर्वका व्यवसायीसँग सहकार्यको प्रस्ताव राख्ने छ ।

पर्यटनको राजधानी पोखराको होटल क्षेत्रमा मात्र पाँच खर्ब रुपियाँभन्दा बढीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार बिस्तारा रहेको र तिनमा १५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सङ्घको आँकलन छ । नेपाली कला र संस्कृतिको संरक्षण र सम्वर्धनको मुख्य उद्देश्यसहित पर्यटन, संस्कृति र खानालाई जोड दिएर सङ्घले आगामी चैत २९ देखि वैशाख १ गतेसम्म फेवातालको किनार लेकसाइडमा २१ औं फेवा नव वर्ष महोत्सव आयोजना गर्दैछ ।

मध्यपूर्वमा भइरहेको तनावका कारण कतिपय बाह्य पर्यटकहरूले नेपाल घुम्ने कार्यक्रमलाई रद्द गरिरहेको बेला सो महोत्सवले आन्तरिक पर्यटकलाई आर्कषित गर्न सकेमा पोखराको पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा अग्रज पर्यटन व्यवसायी भरत पराजुलीको छ ।