• ९ चैत २०८२, सोमबार

पर्वतमा ट्राफिक राजस्व सङ्कलनमा कमी

blog

जिल्ला ट्राफिक कार्यालयका प्रहरी सवारी साधन चेकजाँच गर्दै । तस्बिरः साजन परियार

साजन परियार

पर्वत, चैत ९ गते । चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्म पर्वतमा ट्राफिक कारबाहीबाट झण्डै आधा करोड राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार उक्त अवधिमा ५ हजार १५ वटा सवारी साधनलाई कारबाही गर्दा ४७ लाख ८८ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको हो । 

अघिल्लो आर्थिक वर्षहरूको तुलनामा भने यस वर्ष सवारी साधनबाट सङ्कलन हुने राजस्वमा गिरावट आएको देखिएको छ । आर्थिक वर्ष २०८०–८१ मा १२ हजार २ सय ६५ सवारी साधनलाई कारबाही गर्दा एक करोड ११ लाख रुपियाँ राजस्व उठाइएको थियो । आर्थिक वर्ष २०८१–८२ मा १० हजार ८३७ सवारी साधनबाट १ करोड १३ लाख २३ हजार राजस्व सङ्कलन गरेको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायब निरीक्षक बलबहादुर गुरुङले चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा कमी आएको पुष्टि गर्नुभयो । उहाँका अनुसार जेनजी आन्दोलन, निर्वाचन लगायतका कारण ट्राफिक कारबाही घट्दा राजस्वमा पनि गिरावट आएको छ । 

यस वर्ष कारबाहीमा परेका सवारी साधनको सङ्ख्या पनि अघिल्ला वर्षको तुलनामा उल्लेख्य घटेको तथ्याङ्कले देखाएको छ । त्यस्तै मापसे (मद्यपान गरेर सवारी चलाउने) कारबाहीबाट ७९ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार यस अवधिमा १ सय ४५ जनालाई कारबाही गरिएको छ । कारबाहीमा परेकामध्ये बस चालक ५ जना, जिप तथा कार चालक १७ जना र मोटरसाइकल चालक १ सय २३ जना रहेका छन् ।

पर्वतमा यस वर्ष सवारी दुर्घटनामा कमी आएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार चालु आर्थिक वर्षमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । अघिल्ला वर्षको तुलनामा मानवीय क्षति घटेको तथ्याङ्कले देखाएको छ, जसले ट्राफिक सचेतना र निगरानी प्रभावकारी बन्दै गएको सङ्केत गरेको छ ।