• ९ चैत २०८२, सोमबार

उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट

blog

उपराष्ट्रपति रामसहायप्रसाद यादव र बङ्गलादेशका राजदूत मो शफिकुर रहमानबिच शिष्टाचार भेटघाट ।

काठमाडौँ, चैत ९ गते ।उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत मो शफिकुर रहमानले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच शुभकामना आदान–प्रदानसँगै द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षहरूबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल–बङ्गलादेशबीच मित्रवत् एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएको उल्लेख गर्दै हाम्रो सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान तथा विश्वासमा आधारित रहेको बताउनुभयो ।

उहाँले बङ्गलादेशसँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।उपराष्ट्रपति यादवले बङ्गलादेशमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना दिनुभयो ।

नेपालमा पनि प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले दुवै देशका सरकारबीच सहकार्य सुदृढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत रहमानले नेपाल–बङ्गलादेश सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र जनता–जनताबीचको सम्बन्धमा निहित रहेको उल्लेख गर्नुभयो ।उहाँले वाणिज्य, शिक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन सकिने बताउँदै हाल नेपालबाट ४० मेगावाट विद्युत् प्राप्त भइरहेकोमा यसलाई ६० मेगावाट पुर्‍याउन अनुरोध गर्नुभयो । रासस