चरिकोट, चैत १० गते । अरनिको राजमार्गअन्तर्गतको बाह्रबिसे–कोदारी सडक स्तरोन्नति कार्य सुरु गरिएको छ। सडक विभागले वर्षातले क्षतिग्रस्त भएको यस सडकको स्तरोन्नतिका लागि अर्थ मन्त्रालयसँग दुई अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो।
सडक डिभिजन चरिकोटले ठेक्का प्रक्रिया पूरा गरी गत मङ्सिरमा निर्माण कम्पनी एमएस एनएस गाल्वा जेभीसँग सम्झौता गरी निर्माण कार्य थालिएको सडक डिभिजन चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो। ठेक्का रकम एक अर्ब ३४ करोडमा निश्चित गरिएको छ।
स्तरोन्नतिका क्रममा बाह्रबिसेदेखि कोदारीसम्म २६ किलोमिटर सडक डबल लेन बनाइने छ। भण्डारीका अनुसार डबल लेन निर्माणका लागि आवश्यक स्ट्रक्चर निर्माणको काम धमाधम भइरहेको छ। पहिरो जोखिम क्षेत्रका लागि आवश्यक ज्ञाविन वाल र प्वाम्ट निर्माण भइरहेको छ। हालसम्मको भौतिक प्रगति ७ प्रतिशत पुगेको छ।
निर्माण कम्पनीका सञ्चालक गौरी उप्रेतीले भन्नुभयो, “निर्माणमा कुनै अवरोध नआए तीन वर्षभित्रै सडक स्तरोन्नति सम्पन्न गर्ने तयारी छ। ठेक्का सम्झौता २०८२ मङ्सिर १ गते भएको र मङ्सिर २० गतेदेखि साइटमा काम सुरु भएको हो। आवश्यक निर्माण सामाग्री र आयोजनामा अवरोध नभएसम्म समयमै काम सकिनेछ।”