• १० चैत २०८२, मङ्गलबार

बैतडी अस्पतालमा हाडजोर्नी जटिल शल्यक्रिया सेवा सुरु

blog

बैतडी अस्पतालमा सानो चिरा पारेर गरिएको हाडजोर्नी शल्यक्रियामा संलग्न चिकित्सक टोली। तस्बिर : केशव राज भट्ट

केशव राज भट्ट
वासुलिङ (बैतडी), चैत १० गते ।
जिल्ला अस्पताल बैतडीमा हाड–जोर्नीसम्बन्धी जटिल शल्यक्रिया सेवा सुरु गरिएको छ। दोगडाकेदार गाउँपालिका–३ का एक पुरुषको खुट्टामा रुख ढलेर चोट लागेपछि घुँडामुनिको दुबै हड्डीमा सानो चिराबाट सफल शल्यक्रिया गरिएको हो।

अस्पतालका अनुसार, यसअघि यस्तो सेवा उपलब्ध नभएकाले बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता थियो। यसपटक हाडजोर्नी विशेषज्ञ डा. दीपेन्द्र भण्डारी र जनरल फिजिसियन डा। अरविन्द जोशीसहितको टोलीले अस्पतालमै शल्यक्रिया सम्पन्न गरेको छ।

‘क्लोज रिडक्सन एन्ड इन्टरनल फिक्सेशन विथ आइएमआइएल नेलिङ’ प्रविधिबाट गरिएको यो शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो भएको अस्पताल प्रमुख डा. जोशीले जानकारी दिनुभयो। अब सानो चिराबाट जटिल शल्यक्रिया सम्भव भएसँगै सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।

यसअघि हाडजोर्नी शल्यक्रियामा रड राखेर मात्र उपचार गरिन्थ्यो भने नयाँ प्रविधिबाट कम खर्चमै उपचार सम्भव भएको छ। बाहिर उपचार गर्दा बढी खर्च लाग्ने भए पनि अस्पतालमै ५० हजार रुपियाँभन्दा कम खर्चमा शल्यक्रिया सम्पन्न भएको डा. जोशीले जानकारी दिनुभयो।

प्रदेश सरकार मातहत आएपछि सेवा विस्तार गर्दै आएको अस्पतालमा हाल चार जना विशेषज्ञसहित १० जना मेडिकल अधिकृत कार्यरत छन्, सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो। आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन भए ५० शैय्याको अस्पतालबाट थप सेवा विस्तार गर्न सकिने अस्पतालको भनाइ छ।

अस्पतालले सेवाग्राहीमैत्री र प्रभावकारी सेवा प्रवाहका लागि निरन्तर प्रयास गरिरहेको अस्पताल प्रमुख डा. जोशीले बताउनुभयो।