वसन्त पराजुली
नारायणगढ, चैत १० गते । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जभित्रका प्राकृतिक ताल तथा सिमसार सुक्न थालेका छन् । वन क्षेत्रका तालतलैया तथा जलाशय क्षेत्र सुक्दै तथा खुम्चँदै गर्दा यसमा आश्रित दुर्लभ जलचर, थलचर तथा चराचुरुङ्गीलाई असर पर्न थालेको छ । चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल निकुञ्जभित्र पानीको स्रोत सुक्दै गएको बताउनुभयो । “पानीको स्रोत खुम्चँदै जाँदा यसले जलचर, थलचर र चराचुरुङ्गीलाई ठुलो प्रभाव पार्छ,” उहाँले भन्नुभयो ।
निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने देवीताल अहिले प्रायः घाँसे मैदानमा परिणत हुँदै छ । केही वर्षअघिसम्म यो ताल निकुञ्जको पानीको मुख्य स्रोत थियो । देवीतालसँगै लामी, तमर, नन्दभाउजू, मुन्ना र छत्रे जस्ता ताल अहिले साँघुरिँदै र खुम्चँदै गएर सुक्ने अवस्थामा छन् । निकुञ्ज स्रोत अनुसार निकुञ्जभित्र रहेका ५० भन्दा बढी ठुला ताल सुकेर आधाभन्दा कम छन् । भएका पनि खुम्चँदै र सुक्दै गएका छन् ।
बाघ, गैँडा जस्ता दुर्लभ वन्यजन्तु तथा घडियाल, मगर गोही जस्ता दुर्लभ जलचर मात्रै हैन दुर्लभ चराको पनि प्रमुख वासस्थानका रूपमा निकुञ्ज रहँदै आएको छ । यही पानी नै उनीहरूले प्रयोग गर्ने स्रोत हो । चराविज्ञ वासु बिडारी ताल तलैयाहरू सुक्दै र पुरिँदै गर्दा त्यसको प्रत्यक्ष असर वन्यजन्तु र जलचरसँगै चराचुरुङ्गीलाई पनि परेको बताउनुहुन्छ । “धेरै चरा तालतलैयावरिपरि नै रहेका घाँसे मैदानमा गुँड बनाएर बस्छन् । कति त पानीमै रतिकृडा गर्ने चरा पनि छन् तर अहिले ताल सुक्दै जान थालेपछि समस्या देखिएको छ,” विज्ञ बिडारीले भन्नुभयो ।
पानीमै आफ्नो आहारा खोज्ने केही चरा पानीको अभावमा लोप नै हुने अवस्थामा पुगेका विज्ञ औँल्याउँछन् । संसारमै दुर्लभ भएको चरा गरुड चितवनमा मात्रै भेटिन्थ्यो तर अहिले देखिनै छाडेको उहाँले बताउनुभयो । प्रेमको प्रतीक चरा भनेर चिनिने चखेवा, सारस, क¥याङकुरुङ जस्ता पानीमै रमाउने चरा पनि अहिले घट्दै गएका छन् ।
नेपालमा हाल १२५ प्रजातिका माछा पाइन्छन् । यीमध्ये धेरै जसो निकुञ्जसँगै रहेका जल सम्पदामा छन् । घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लज जीव मात्रै होइन; पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुर जस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख वासस्थान यहीँका नदी तथा तालतलैया हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त कतिपय तालतलैया सुक्नुमा प्राकृतिक कारण रहेको मान्नुहुन्छ ।
“नारायणी, राप्ती जस्ता ठुला नदीमा आउने बाढीले चुरिया क्षेत्रको गिटी, बालुवा, माटो निकुञ्ज क्षेत्रमा ल्याएर छाडिनु; पानीका स्रोत सुक्दै जानु र तालतलैया साँघुरिँदै जानुको मुख्य कारण हो,” उहाँले भन्नुभयो । जलवायु परिवर्तनको असर पनि बिस्तारै तालतलैयामा पर्दा पनि यो समस्या आएको छ । “तालतलैयामा भइरहेका जलकुम्बी, करौते जस्ता मिचाहा प्रजातिका झारले पनि ताल पुरिन सहयोग गरिरहेका छन्,” उहाँले भन्नुभयो ।
बनाइँदै कृत्रिम ताल
निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोत सुक्दै र साँघुरिँदै जान थालेपछि कृत्रिम पानीका स्रोतको पनि खोजी हुन थालेको छ । निकुञ्जले यस वर्ष मात्रै सुखीभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम पानीको ताल बनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश मगर निकुञ्जभित्र पानीको भरिपूरणका लागि कृत्रिम पोखरी बनाउन थालिएको बताउनुभयो । यसअघि निकुञ्जकै भिम्लेमा बनाइएको कृत्रिम पोखरी पनि प्रभावकारी बनेको उहाँले जनाउनुभयो । “सय मिटर टाढा रहेको खोल्सामा रहेको पानीलाई सोलारको माध्यमबाट ‘लिफ्टिङ’ गरेर सुकेभारमा पानीको व्यवस्था मिलाएका छौँ । यसरी नजिकको पानीको स्रोतलाई सकेसम्म बढी प्रयोग गराउने रणनीतिमा निकुञ्ज प्रशासन छ तर कतिपय अवस्थामा बजेटको अभावले पनि समस्या छ,” उहाँले भन्नुभयो । निकुञ्जका पूर्वरेन्जर हाल विश्व वन्यजन्तु कोषमा कार्यरत माधव खड्का नयाँ क्षेत्रसँगै पुराना तालतलैयालाई पनि वैकल्पिक पानीको स्रोत दिनुपर्ने बताउनुहुन्छ ।