• १० चैत २०८२, मङ्गलबार

नेपालगन्जबाट देशव्यापी उद्यमशीलता सीप कार्यक्रम सुरु

blog

अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा देशव्यापी उद्यमशीलता सीप निर्माण कार्यक्रममा सहभागीहरु ।

नेपालगन्ज (बाँके), चैत १० गते । नेपालस्थित अमेरिकी दूतावासले सोमबार अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीसँगको साझेदारीमा देशव्यापी उद्यमशीलता सीप निर्माण कार्यक्रमको सुरुवात नेपालगन्जबाट गरेको छ। यस पहलले प्रारम्भिक चरणमा रहेका उद्यमीहरूलाई दिगो व्यवसाय सञ्चालन, लगानी आकर्षण र क्षेत्रीय तथा विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक व्यवहारिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ।

कार्यक्रम लुम्बिनी प्रदेशबाट सुरु भई धनगढी, विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा र पोखरामा जारी रहनेछ। सातै प्रदेशमा करिब २०० उद्यमी प्रत्यक्ष कार्यशाला, गोष्ठी र भर्चुअल बुटक्याम्पको श्रृंखलामा सहभागी हुनेछन्।

प्रशिक्षण सत्रहरूमा व्यवसायका आधारभूत पक्ष, बजार पुष्टि, लगानीकर्तासँग सञ्चार, डिजिटल मार्केटिङ र निर्यात तयारीजस्ता विषयमा ध्यान केन्द्रित गरिनेछ। यसले उद्यमीलाई नवीन सोचलाई रोजगारी सृजनामा परिणत गर्ने, व्यापार वृद्धि गर्ने र दीर्घकालीन आर्थिक वृद्धिमा योगदान पुर्‍याउने व्यवहार्य कम्पनी निर्माण गर्न मद्दत गर्नेछ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले भने, “आर्थिक वृद्धि तथा नवप्रवर्तनका लागि उद्यमीहरू अपरिहार्य छन्। यस कार्यक्रमले नेपाली संस्थापकहरूलाई व्यवसाय विस्तार गर्न सहयोग पुर्‍याउँदै अमेरिका र नेपालबीच व्यापार र वाणिज्य सहकार्यका नयाँ अवसर सृजना गर्नेछ।”

यो पहल अमेरिका–नेपाल वाणिज्य कूटनीति शृंखलाको हिस्सा हो जसले उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको विकास प्रवर्धन गरी आर्थिक सम्बन्धलाई विस्तार गर्ने उद्देश्य राखेको छ। कार्यक्रमले उद्यम संस्थापकहरूलाई सल्लाहकार, लगानीकर्ता र औद्योगिक विज्ञसँग जोड्दै व्यवसाय मोडेल परिष्कृत गर्न, वृद्धि र अमेरिकी फर्मसँग साझेदारीका लागि तयार पार्नेछ।

कार्यक्रम अन्तर्राष्ट्रिय विकास इन्स्टिच्युट र आद्यन्त अड्भाइजरीद्वारा नेपालस्थित अमेरिकी वाणिज्य संघ र द ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। यसले नेपालको नवप्रवर्तन वातावरणलाई मजबुत बनाउन र अमेरिका–नेपाल आर्थिक सहकार्यलाई प्रवर्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।