लेखनाथ समाचारदाता
लेखनाथ, चैत १० गते । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको छ । सभामा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेश सडक ऐन, २०८१ ऐनलाई संशोधन गर्न बनेको ऐन सभामा प्रस्तुत गर्नुभयो । सभाको दोस्रो बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले आफ्नो दलको नेतृत्वमा देशमा अनेक महत्वपूर्ण काम भएको उल्लेख गर्दै केही कमी, कमजोरी पनि भएको स्वीकार्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले विगतप्रति आत्मसमीक्षा गर्नै पर्छ । अहिले जनमतबाट हामी पछि परेका छौँ ।” नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता हरिबहादुर चुमानले लोकतन्त्रको सही अभ्यास नहुँदा निर्वाचनपछि नयाँ अवस्था सिर्जना भएको बताउनुभयो । नेता चुमानले भन्नुभयो, “हामीले संस्थागत सृदृढीकरण गर्न सकेका छैनौँ । जनताको अपेक्षा पूरा गर्न सकेका छैनौँ । त्यसैले हामी फेरिनै पर्छ ।” नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सभा सदस्य महेन्द्रध्वज जिसीले जेनजी आन्दोलनपछि देशको राजनीतिले अप्रत्याशित कोल्टो फेरेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटना पृथक्/पृथक् भएको बताउनुभयो ।
शून्य समयमा सभा सदस्य दमयन्ती रुचालले निर्मला पन्तदेखि इनिशा विकसम्मको हत्याका घटनाले देशमा छोरी अझै असुरक्षित रहेको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “राज्य जवाफविहीन र मौन देखिन्छ, घटना भइरहेका छन्, कारबाही नहुँदै विस्तारै सेलाउँछन् ।” प्रदेश सभा सदस्य दिलमाया पौडेलले पनि सामूहिक बलात्कार र हत्या नरोकिनुलाई सिङ्गो समाजको असफलता भएको बताउनुभयो । प्रदेश सभा सदस्य नन्दकला नेपाली दमाईंले अन्तर्राष्ट्रिय महिला दिवसको अभियान चलिरहेकै बेला बालिका बलात्कार र हत्या जस्ता जघन्य अपराध हुनुले महिला सुरक्षामा ठुलो प्रश्नचिह्न खडा गरेको बताउनुभयो । उहाँले हत्यारालाई कुनै पनि हालतमा उम्कन नदिई छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
अर्का सभा सदस्य हरिबहादुर भण्डारीले राइड सेयरिङको अन्योलबारे प्रश्न उठाउनुभयो । ऐनअनुसार नियमावली, कार्यविधि बनिसकेपछि कार्यान्वयन नभएकोमा उहाँले सरकारको जवाफ माग गर्नुभयो । उहाँले भन्नुभयो, “ऐन, नियम, कार्यविधि बनिसकेका छन् । दर्ताबिना नै व्यवसाय चलिरहेको छ भने सरकार कहाँ छ ?”
प्रदेश सभा सदस्य महेश भट्टराईले पश्चिम एसियाको तनावले खाडी क्षेत्रमा रहेका लाखौँ नेपाली श्रमिकको सुरक्षा जोखिममा परेको बताउनुभयो । अर्का सभा सदस्य लीलबहादुर थापामगरले पश्चिम एसियाको द्वन्द्वको असर नेपालीको चुलोसम्म पुगिसकेको बताउँदै इन्धनको मूल्य वृद्धि र पर्यटन क्षेत्रमा पर्ने प्रभाव कम गर्न प्रदेश सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । पहिलो बैठक प्रदेश सभाका पूर्वसदस्य कृष्णबहादुर थापाको निधनप्रति शोक प्रकट गरिएको थियो । थापाको फागुन २८ गते हृदयाघातका कारण निधन भएको थियो ।