रेसुङ्गा (गुल्मी), चैत १० गते । गुल्मी धुर्कोट गाउँपालिका–५ की ३३ वर्षीय माया सुनार गाउँपालिकाले घर बनाउन थालेपछि निकै खुसी हुनुहुन्छ । अहिलेसम्म राम्रो घर थिएन । चार जनाको परिवार छिमेकी जेठाजुकोमा बस्दै आएको थियो । कमाएर राम्रो घरपरिवारका सपना पूरा गर्ने उद्देश्य बोकेर कतार हिँडेका श्रीमान् नारायण सुनारको तीन वर्षअघि बाटोमै हृदयाघातका कारण ज्यान गएपछि आफूहरूको बिचल्ली भएको सुनारले सुनाउनुभयो ।
अहिले माया सुनारको काँधमा तीन छोराछोरी लालनपालनको जिम्मेवारी छ । मायाको राम्रो घर बनाउने सपना गाउँपालिकाले पूरा गरे पनि जीविकोपार्जनको उपाय छैन । उहाँले भन्नुभयो, “घरपछि सानोतिनो रोजगारीको अवसर पनि गाउँमै पाउन पाए छोराछोरी हुर्काउन सकिन्थ्यो । अहिले मेलापातको कामले मात्रै परिवारको जोहो चलेको छ ।
धुर्कोट गाउँपालिका–१, नयाँगाउँमा ५६ वर्षीय खुमबहादुर परियारको पनि धुर्कोट गाउँपालिकाले घर निर्माण गरिदिएको छ । अहिले बुढेसकालमा खुमबहादुर एक्लै घरमा हुनुहुन्छ । रोजगारीको लागि भारत गएका बेला खुमबहादुरले उतै बिहे गर्नुभएको थियो । पाँच जना छोराछोरी पनि जन्मिए तर कोही फर्किएर गाउँ आउँदैनन् । २०६६ सालमा आफ्नै घर फर्किएका खुमबहादुरले सानो छाप्रोमा मजदुरी गरेर ज्यान पाल्नुभएको थियो । अहिले घर बनेकोमा परियार खुसी हुनुहुन्छ ।
गुल्मीको धुर्कोट गाउँपालिकाले गरिब परिवारलाई १२ घर दिने भएको छ । गाउँपालिकाले अहिलेसम्म आवासविहीन भएर विभिन्न अवस्थामा बसोबास गरेका पालिकाका सबै वडाका गरेर १२ गरिब नागरिकका घर निर्माणको अभियान अगाडि बढाएको छ । गत वर्ष दुई घर निर्माण भएका थिए । अहिले बजेट र सङ्ख्या बढाइएको छ । गाउँपालिकाका १, २, ४, ६ र ७ वडामा दुई/दुई जना र ३ र ५ वडामा एक/एक जनाले घर पाउने धुर्कोट गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले बताउनुभयो ।
अहिलेसम्म छ जनाको घर निर्माणको काम सकिएको छ । अधिकांशको निर्माण कार्य अन्तिम चरणमा रहेको विश्वकर्माले जानकारी दिनुभयो । प्रत्येक व्यक्तिले घर निर्माणबापत दुई किस्तामा चार लाख रुपियाँ प्राप्त गर्ने छन् । पहिलो किस्ता एक लाख र अन्तिम किस्ता तीन लाख गरेर भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ ।
घर निर्माण हुने १२ जनामध्ये आठ जना दलित समुदायका छन् । पालिकाभित्रका आफ्ना नागरिक आवासविहीन भएर बस्न नपरोस् भन्ने उद्देश्यले घर निर्माण अभियान सुरु गरिएको धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो ।