• ४ वैशाख २०८३, शुक्रबार

पाँचथर प्रशासनमा बिदामा पनि सेवा सञ्चालन

blog

जिल्ला प्रशासन कार्यालय पाँचथर ।

राधा लुइटेल
फिदिम, वैशाख ४ गते ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

कार्यालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा तोकिएका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन हुने स्पष्ट पारेको हो ।

नेपाल सरकारको निर्णयअनुसार विभिन्न पर्व, दिवस तथा जयन्तीका अवसरमा पर्ने सार्वजनिक बिदाका दिनमा समेत सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नागरिकलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले कार्यालयले विशेष व्यवस्था मिलाएको छ ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार वैशाख १८ गते पर्ने चण्डी पूर्णिमा, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षा बन्धन, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी, असोज २५ गते घटस्थापना लगायतका पर्व तथा दिवसका दिनमा पनि सेवा सञ्चालन गरिनेछ ।

त्यसैगरी पुसमा पर्ने धान्य पूर्णिमा, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघे सङ्क्रान्ति, सोनाम ल्होसार, फागुनमा पर्ने प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, घ्याल्पो ल्होसार तथा मुस्लिम समुदायका ईद र बकर ईदका दिनमा समेत तोकिएका सेवा उपलब्ध हुने कार्यालयले जनाएको छ ।

प्रजिअ दाहालका अनुसार सार्वजनिक बिदाका दिनमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन गरिनेछ । यस व्यवस्थाबाट सेवाग्राहीलाई बिदाका कारण सेवा लिनुपर्ने झन्झटबाट राहत मिल्ने अपेक्षा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई तोकिएका मिति र समयमै उपस्थित भई सेवा लिन तथा आवश्यक कागजातसहित आउन अनुरोध गरेको छ ।