ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख ४ गते । सरकारी सेवालाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले जिल्ला हुलाक कार्यालय म्याग्दीले जिल्लाभर कार्यरत हल्कराहरूलाई उत्प्रेरणा तथा अभिमुखीकरण प्रदान गरेको छ।
राहदानीलगायतका सरकारी कागजात हुलाकमार्फत सिधै घरमै वितरण गर्ने कार्यलाई प्रभावकारी बनाउन कार्यालयले बुधबारदेखि यो सेवा सुरु गरेको हो।
नेपाल सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एकसय बुँदे कार्यसूचीअन्तर्गत हुलाकमार्फत सेवा विस्तार गर्ने योजनालाई सफल बनाउन हल्कराहरूलाई प्रशिक्षित गरिएको कार्यालयले जनाएको छ।
महत्वपूर्ण सरकारी कागजातहरू सुरक्षितरूपमा सम्बन्धित व्यक्तिकहाँ पुर्याउन हल्कराहरूको भूमिकालाई थप जिम्मेवार बनाउन यो कार्यक्रम गरिएको कार्यालय प्रमुख रमेश थापाले जानकारी दिनुभयो।
बिहीबार आयोजित कार्यक्रममा जिल्ला तथा पालिका हुलाक कार्यालयअन्तर्गतका हल्कराहरूलाई सेवाको गुणस्तर, समय व्यवस्थापन र उत्तरदायित्वबारे सहजीकरण गरिएको थियो।
सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने हल्कराहरू रमेश शर्मा, सबैभन्दा धेरै चिठी वितरण गर्ने रघुगंगा गाउँपालिकाकी शोभा सुवेदी र पोस्ट म्यान बुक दुरुस्त राख्ने दीपक सुवेदीलाई सम्मान गरिएको छ।
प्रमुख थापाका अनुसार हुलाकलाई 'सरकारी कुरियर'का रूपमा विकास गर्दै नागरिकलाई सहज र छरितो सेवा दिनेतर्फ ध्यान केन्द्रित गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबिच भएको समझदारीसँगै अब म्याग्दीमा राहदानी लिन कार्यालय धाइरहनुपर्ने बाध्यता अन्त्य भई घरमै प्राप्त हुने व्यवस्था मिलाइएको छ।