• ४ वैशाख २०८३, शुक्रबार

उद्धार उडानमा प्रक्रिया सहज, बिरामीलाई राहत

blog

लोमान्थाङ गाउँपालिकामा एक विदेशी पर्यटकको उपचार गर्दै स्वास्थ्यकर्मी । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), वैशाख ४ गते ।
निषेधित क्षेत्रमा हुने उद्धार उडानको प्रक्रियागत झन्झट हटेसँगै सिकिस्त बिरामीलाई राहत पुगेको छ ।

गत वर्ष जेठ महिनामा उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित दामोदरकुण्ड दर्शनका क्रममा नुवाकोटका ७० वर्षीय एक वृद्ध अचानक बेहोस भएका थिए । पैदलमार्गबाट उपचार सम्भव नभएपछि हेलिकप्टरको खोजी गरिए पनि समयमै उद्धार हुन नसक्दा उहाँको ज्यान गएको थियो ।

त्यस्तै, २०८१ सालमा पूजाआजा गर्न दामोदरकुण्ड पुगेकी गण्डकी प्रदेश सांसद बिमला गौचन लेक लागेर चार दिनसम्म धर्मशालामा बस्नुपरेको थियो । पछि उपचारका लागि काठमाडौं लगिए पनि कात्तिक २८ गते उहाँको निधन भएको थियो ।

गृह मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण हुँदै जिल्ला प्रशासन कार्यालयसम्म अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण विगतमा यस्ता घटनामा बिरामीको ज्यान जोखिममा पर्ने गरेको थियो ।

अर्ध–निषेधित क्षेत्रमा पर्ने मुस्ताङका लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा स्वदेशी तथा विदेशी पर्यटक बिरामी पर्दा अनुमति लिएपछि मात्र उद्धार गर्नुपर्ने नियमका कारण समस्या हुने गरेको थियो ।

सरकारले हाल उद्धारसँगै कागजी प्रक्रिया समानान्तर रूपमा अघि बढाउन सकिने व्यवस्था गरेपछि घण्टौँ कुर्नुपर्ने अवस्था अन्त्य भएको छ । सांसद योगेश गोचन थकालीले निषेधित क्षेत्रमा उद्धार प्रक्रियाको जटिलताका कारण ज्यान जाने समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको थियो ।

गृह मन्त्रालयले हेलिकप्टर उडानसम्बन्धी कार्यविधि परिमार्जन गर्दै बिरामी वा दुर्घटनामा परेकालाई तत्काल उद्धार गरी २४ घण्टाभित्र आवश्यक कागजात पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्माका अनुसार नयाँ कार्यविधिअनुसार आगामी दिनमा उद्धार कार्य सहज रूपमा सञ्चालन गरिनेछ । आपतकालीन उद्धारबाहेक निषेधित क्षेत्रमा हेलिकप्टरमार्फत यात्रा गर्दा सुरक्षाकर्मी अनिवार्य रहने व्यवस्था भने यथावत रहेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म उपल्लो मुस्ताङबाट ९ नेपाली र ११ विदेशीलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

यसअघि कागजी प्रक्रियाका कारण बिरामीलाई सडकमार्ग हुँदै जोमसोम ल्याएर मात्रै हेलिकोप्टरमार्फत पोखरा वा काठमाडौं पठाउनुपर्ने बाध्यता थियो ।

सरकारले हाल पदयात्रासम्बन्धी नियममा पनि सहजता ल्याउँदै एकल पर्यटकलाई समेत अनुमति दिएको छ । यसअघि दुई वा सोभन्दा बढी पर्यटकको समूह अनिवार्य हुने व्यवस्था थियो ।

तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङका लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड क्षेत्र सुरक्षा संवेदनशीलताका कारण निषेधित क्षेत्रअन्तर्गत पर्दछन् । सन् १९९२ देखि उपल्लो मुस्ताङ पर्यटकका लागि खुला गरिएको हो ।