गोरखापत्र समाचारदाता
सोलुखुम्बु, वैशाख ४ गते । नेपाली कला साहित्य डटकम प्रतिष्ठानद्वारा सोलुखुम्बुको सल्लेरीमा आयोजित दुई दिने १९ औँ कला साहित्य यात्रा सम्पन्न भएको छ ।
मुलुकको विभिन्न जिल्लामा पुगेर बर्सेनी गरिँदैआएको कला साहित्य यात्रा यस पटक सल्लेरीमा आयोजना गरिएको हो । सो अवसरमा प्रतिष्ठानद्वारा योगेश्वर वाङ्मय पुरस्कार र ग्रेगरी कला संस्कृति पुरस्कार समेत प्रदान गरिएको छ ।
समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार अशेष मल्लले योगेश्वर वाङ्मय पुरस्कार रुकुमका स्रष्टा पूर्ण ओली र ग्रेगरी कला संस्कृति पुरस्कार सोलुखुम्बुका मनुहाङ किराँतीलाई प्रदान गर्नुभयो । दुबै पुरस्कारको राशी क्रमशः २५ हजार र २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
सो अवसरमा समालोचक महेश पौडेलले संस्थाको बारेमा प्रकाश पार्नुभयो । समारोहका विशिष्ट अतिथि पूर्व मुख्यसचिव साहित्यकार विमल कोइरालाले साहित्यको वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुभयो ।
संस्थाकी अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा काठमाडौँबाट गएका स्रष्टा लक्ष्मण गाम्नागे, मधुपर्कका सम्पादक तुलसीहरि कोइराला, मणि लोहनी, जयदेव भट्टराई, राजेश्वर कार्की, डा. कृष्णराज डिसी, चन्द्र गुरुङ, लक्ष्मी रुम्बा, मुकुन्द प्रयास, कुमारी लामा लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।
यसैगरी सिर्जना वाचन गर्नुहुने स्थानीय स्रष्टामा उत्रकुमार राई, शम्भु निःशब्द, वीरेन्द्र ग्यावा तामाङ, मनुहाङ किराँती, सुष्मा बस्नेत, महेन्द्रदीप राई, सुवास सङ्गम राई लगायत हुनुहुन्थ्यो । ‘मेरो राष्ट्रः मेरो ध्येय’ मूल नाराका साथ साहित्य सम्वर्धनमा काम गर्दैआएको प्रतिष्ठानले स्थानीय संस्था नवयुग साहित्य, कला सेवा समाजसँगको संयोजनमा कार्यक्रम गरेको हो । सो अवसरमा फोटो पत्रकार सुन्दर बस्नेतद्वारा सङ्कलित तस्बिरहरुको प्रदर्शनी गरिएको थियो ।