धनगढी, वैशाख ४ गते । कैलालीको धनगढी उपमहानगरपालिका–१ लक्ष्मीनगरका ५६ वर्षीय पतिराम चौधरीको कुटपिटबाट मृत्यु भएको आरोप परिवारले लगाएका छन्।
मृतकका आफन्तका अनुसार छिमेकी महेश श्रेष्ठले कुकुर मरेको विषयलाई लिएर रिस राखी चौधरीमाथि कुटपिट गरेको आरोप लगाएका छन् ।
चौधरीको घरको कुकुरले श्रेष्ठको कुकुरलाई टोकेर मारेपछि विवाद उत्पन्न भएको थियो। परिवारका सदस्यका अनुसार श्रेष्ठले राति सुतिरहेका चौधरीलाई मरेको कुकुर देखाउने बहानामा आफ्नो घरमा बोलाउनुभएको थियो ।
लामो समयसम्म चौधरी घर नफर्किएपछि आफन्तहरू खोज्दै जाँदा चौधरी श्रेष्ठकै घरमा बेहोस अवस्थामा फेला पर्नुभएको थियो।
मृतककी श्रीमती रूपा चौधरीले आफ्ना पति सिँढीको तल ढलेको अवस्थामा भेटिएको र शरीरमा चोटपटक तथा निलडाम देखिएको बताउँदै कुटपिट गरेर हत्या गरिएको आरोप लगाउनुभयो ।
उहाँकाअनुसार आफू र छोरा घटनास्थल पुग्दा महेश श्रेष्ठ र उहाँकी आमाले चौधरीको शरीरमा पानी र बरफ हालिरहेका थिए।यता श्रेष्ठ परिवारले भने चौधरी सिँढीबाट लडेर बेहोस भएको दाबी गरेको छ।
महेश श्रेष्ठकी आमा सुमित्रा श्रेष्ठले कुटपिट नभएको बताउँदै छतमा मरेको कुकुर हेरेर तल झर्दै गर्दा चौधरी लडेको र होसमा ल्याउन पानी तथा बरफ प्रयोग गरिएको जानकारी दिनुभयो।
बेहोस अवस्थामा फेला परेका चौधरीलाई उपचारका लागि अस्पताल लगिएको थियो। चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका थिए।घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले घटनाबारे अनुसन्धान जारी रहेको र सत्यतथ्य खुल्न बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार कुकुरसम्बन्धी विवादबारे प्रहरीमा पूर्व जानकारी भने आएको थिएन।