• ४ वैशाख २०८३, शुक्रबार

आमाको मृत्यु, बुवा सुधारगृहमा : चार वर्षीय बालिकाको बिचल्ली

blog

रेसुङ्गा (गुल्मी), वैशाख ४ गते । गुल्मी सदरमुकाम तम्घासस्थित अमरकल्याणको सामुदायिक महिला सेवा केन्द्रको एउटा कोठामा चुपचाप तर आफन्तको प्रतीक्षामा टोलाइरहेकी एउटी चार वर्षीय अबोध बालिका छन् । चञ्चले, चुलबुले अनि निकै जिज्ञासु छन्, चार वर्षीय अबोध बालिका सपना (नाम परिवर्तन) । बाहिर आकाश खुला भए पनि सपनाको बाल्यकाल नै बन्द कोठा जस्तै छ । 

उनी करिब दुई सातादेखि सदरमुकाम तम्घासको सामुदायिक महिला सेवा केन्द्रको संरक्षणमा छन् । पर्दापछाडि आशा र सपना त कति छन् कति । केन्द्रले सकेको चाहना पूरा गरेरै राखेको छ तर अल्पकालीन सेवा भएकाले संस्थासँग बजेट छैन । 

घरमै जस्तो केन्द्रसँग सपनाले धेरै माग राख्छिन् । राम्रो लुगा, झोला, स्यान्डिल र खानेकुरा इत्यादि । धुर्कोट गाउँपालिका–४, जैसीथोक बस्ने बालिकाकी आमाले केही वर्षपहिले आत्महत्या गर्नुभयो ।

आमाको मृत्युपछि बुवाले मादक पदार्थ सेवन गर्न थाल्नुभयो । केही दिनअघि सार्वजनिक स्थलमा बुवा मादक पदार्थमा अचेत भएर पल्टिएको र बालिकाले बुवालाई कुरेर विक्षिप्त अवस्थामा बसेको भिडियो एक जनाले खिचेर सामाजिक सञ्जालमा राखेका थिए । 

त्यसपछि बुवाछोरी केही दिन हराए । त्यसपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले बाबुछोरीको खोजतलास गरेर बागलुङ गलकोटबाट फेला पारेर ल्याएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले अहिले बाबुलाई दाङ सुधारगृह र बालिकालाई अमरकल्याणको सामुदायिक महिला सेवा केन्द्रमा राखिएको बताउनुभयो । 

बालिकाका बुवाआमाले अन्तरजातीय बिहे गरेका थिए । सोही कारण बालिकालाई आफन्तले हेरचाह गर्न मान्दैनन् । बालिकाको उद्धारमा सक्रिय स्थानीयसमेत रहेका पत्रकार हुमाकान्त पोख्रेलले बालिकाका आफन्तलाई धेरै अनुरोध गरेर बालिका राख्न स्वीकार नगरेपछि केन्द्रमा राखिएको बताउनुभयो । 

बालिका सानो उमेरको भएकाले छुट्टै हेरचाहको खाँचो छ । बजेट नभएकाले केन्द्रमा धेरै दिन राख्ने अवस्था छैन । अमरकल्याण महिला विकास सहकारी संस्थाकी व्यवस्थापक अन्जु पन्थीले बजेटका कारण लामो समय कसैलाई पनि केन्द्रमा व्यवस्थापन गर्न नसकिने अवस्थाका बिच बालिका सानी भएकाले भरथेग गरिरहेको बताउनुभयो । उहाँले राज्यका निकायले बालिका निकै टाठी भएकाले तत्काल व्यवस्थापन गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो । 

धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोख्रेलले ठुला अभिभावकविहीन वा अभिभावकत्व नपाएका सात/आठ जनालाई गाउँपालिकाले खर्च गरेर विभिन्न ठाउँमा व्यवस्थापन गरे पनि सानी बालिकाका लागि निकै अप्ठ्यारो परेको बताउनुभयो । उहाँले सङ्घीय सरकारले तत्काल बालिकालाई दीर्घकालीन संरक्षणका लागि सोच्न आग्रह गर्नुभयो ।   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।