बैतडी समाचारदाता
बैतडी, वैशाख ४ गते । करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन अवस्थामा छन् । सब (इलाका सेवा कार्यालय) सेन्टरका भवन, मनोरञ्जन पार्क, सामुदायिक भवन, विभिन्न स्मृति नामका भवन र तरकारी सङ्कलन गर्न बनाइएको चिस्यान केन्द्रसमेत अलपत्र अवस्थामा छन् ।
कृषि र पशुसम्बन्धी सेवा दिन बनाइएका गाँजरी सब सेन्टर, मेलौली, पुर्चौडीमा रहेका भवन प्रयोगविहीन बनेका हुन् । त्यस्तै दुई करोड रुपियाँ खर्च गरेर निर्माण गरिएको पाटन नगरपालिकास्थित हिरापुर मनोरञ्जन पार्कका संरचना पनि प्रयोगविहीन अवस्थामा नै छन् । सिगास गाउँपालिका–२, गाँजरीस्थित अर्जुन माविको आठ कोठे भवन प्रयोगमा नआउँदा जीर्ण बनेको छ । ठेकेदारले भवन निर्माण गरेर विद्यालयलाई हन्तान्तरण नगर्दा अलपत्र परेको छ । भवनको अनुगमन गर्दा उपयोगमा नआउँदै भवन जीर्ण बनेको जिल्ला समन्वय समितिका सदस्य प्रेम भाटले बताउनुभयो ।
अलपत्र छाडिएका भवनको अनुगमन गरेर सुदूरपश्चिम प्रदेश सरकारलाई जानकारी गराए पनि कुनै सुनुवाइ नभएको जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताउनुभयो । उहाँले बजेट सक्नकै लागि निर्माण गरिएका भवन उपयोग हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा पाटन नगरपालिका– ९, ज्याफुमा निर्माण भएको १० वटा सटरको चिस्यान केन्द्रको भवन बर्सौंदेखि प्रयोग नहुँदा अलपत्र परेको छ । गाँजरीका सब सेन्टरका भवन पनि अलपत्र छन् । भवनको अवस्था हेर्दा बजेट दुरुपयोग भएको छ ।”
पाटन नगरपालिका ८ का वडाध्यक्ष हरिश विष्टमा खोड्पे क्षेत्रमा मात्रै दुई वटा चिस्यान केन्द्र र एउटा तरकारी सङ्कलन केन्द्रको भवन अलपत्र रहेको बताउनुभयो । जिल्ला समन्वय समितिको टोलीले पाटन नगरपालिका, सिगास गाउँपालिका, मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकाको अनुगन गरेर अलपत्र पारिएका भवनको प्रतिवेदन तयार गरेर प्रदेश सरकारलाई बुझाएको छ । यद्यपि, कुनै सुनुवाइ भएको छैन ।
जिल्ला समन्वय समितिले १० वटै स्थानीय तहको अनुगमन गरेर अलपत्र पारिएका भवनको तथ्याङ्क सङ्कलन गरेर भवनको उचित प्रयोगका लागि पहल भइरहेको बताउँदै आएको छ । अलपत्र पारिएका भवनको सङ्ख्या स्थानीय तहले उपलब्ध नगराएपछि समन्वयको टोली आफैँ अनुगमनमा निस्किएको छ । समन्वय समितिको प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लाका १० वटै स्थानीय तहका विभिन्न ठाउँमा ५० भन्दा बढी करोडौँ रुपियाँ खर्च गरेर बनेका भौतिक संरचना अलपत्र पारेर समन्वय समिति प्रमुख धामीले बताउनुभयो । अधिकांश संरचना उपभोक्त समितिमार्फत बनाइएको पाइएको अनुगमन टोलीले जानकारी दिएको छ ।