• ४ वैशाख २०८३, शुक्रबार

भारत सहयोगमा भिमगिठे स्वास्थ्य चौकी निर्माण सुरु

blog

बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्य चौकी भवन निर्माणका शिलान्यास गरिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), वैशाख ४ गते ।
भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका स्थित भिमगिठे स्वास्थ्य चौकीको भवन शिलान्यास गरिएको छ ।

बडिगाड गाउँपालिका–७ मा रहेको भिमगिठे स्वास्थ्य चौकी भवन निर्माणका लागि शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।

दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत बडिगाड गाउँपालिका मार्फत कार्यान्वयन गरिनेछ ।

नेपाल–भारतबिचको द्विपक्षीय सहकार्यअन्तर्गत यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समृद्धि प्रवर्धनमा टेवा पुग्ने बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । भारतीय राजदुतावास र बागलुङको बडिगाड गाउँपालिका बीच भवन बनाउनेगरी कात्तिक २४ गते सम्झौता भएको थियो ।