• ४ वैशाख २०८३, शुक्रबार

कोठा अभावले कैलाश–४ वडा कार्यालयको सेवा प्रभावित

blog

शिवकुमार रिजाल
मनहरी (मकवानपुर), वैशाख ४ गते ।
मकवानपुरको विकट कैलाश गाउँपालिका–४ मा पर्याप्त तथा व्यवस्थित भवन नहुँदा वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ ।

स्थानीय तहको निर्वाचनपछि अघिल्लो कार्यकालमा जस्तापाता प्रयोग गरी तीन कोठे भवन निर्माण गरेर वडा कार्यालय सञ्चालनमा ल्याइएको थियो । करिब १२ लाख रुपियाँ लागतमा बनेको उक्त जस्तापातायुक्त भवन जीर्ण बन्दै गएको र साँघुरो भएकाले सेवा प्रवाहमा समस्या भइरहेको वडा सचिव अशोक शर्माले बताउनुभयो ।

उहाँका अनुसार पालिकासँग पर्याप्त बजेट नहुँदा नयाँ भवन निर्माणसम्बन्धी योजना समेत अघि बढ्न सकेको छैन । दोस्रो कार्यकालमा समेत वडाध्यक्ष निर्वाचित तिलकबहादुर मुक्तानले २०७४ सालमा १२ लाख रुपियाँ खर्चेर तीन कोठे कच्ची भवन निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

त्यतिबेला गाउँमा सडक सञ्जाल नहुँदा निर्माण सामग्री स्थानीयले बोकेर ढुवानी गर्नुपर्ने अवस्था भएकाले पक्की तथा फलामे संरचना निर्माण गर्न नसकिएको उहाँको भनाइ छ । “जिल्ला दररेटअनुसार काम गर्नुपर्ने कानुनी बाध्यताले सोचेजस्तो भवन बनाउन सकिएन,” वडाध्यक्ष मुक्तानले भन्नुभयो । उहाँले थप भन्नुभयो, “पाथीको सय रुपियाँ ज्याला दिएर बालुवा बोकाएर भवन बनाएका हौं ।”

हाल गाउँमा ट्रयाक्टर र बोलेरो जस्ता सवारीसाधन पुग्न थालेकाले नयाँ भवन निर्माणको आवश्यकता झन् बढेको उहाँले बताउनुभयो । अहिले टाढाबाट आउने सेवाग्राहीलाई बस्ने र प्रतीक्षा गर्ने स्थानसमेत अभाव रहेको छ । तीन कोठामध्ये एक कोठामा वडा सचिव, प्राविधिक र स्वास्थ्य केन्द्रका कर्मचारीसमेत राख्नुपर्दा कार्यालय झन् साँघुरो भएको वडाध्यक्ष मुक्तानको भनाइ छ ।

कैलाश गाउँपालिकाले यसअघि नै वडा कार्यालय भवन नभएका वडाहरूका लागि प्रत्येकलाई १२ लाख रुपियाँ विनियोजन गरी भवन निर्माण गर्ने व्यवस्था गरेको जनाएको छ ।