• ४ फागुन २०८२, सोमबार

राष्ट्रिय प्रसारण लाइनको परीक्षण

blog

रेसुङ्गा नगरपालिका–७, उनायचौरको १३२ केभी राष्ट्रिय विद्युत् प्रसारण लाइनको सबस्टेसन ।

रेसुङ्गा (गुल्मी), फागुन ४ गते । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको गुल्मीको रेसुङ्गा नगरपालिका–७, उनायचौर सबस्टेसनदेखि बागलुङ बुर्तिबाङसम्मको १३२ केभी राष्ट्रिय प्रसारण लाइनको परीक्षण सुरु भएको छ । यो राष्ट्रिय प्रसारण लाइनको उनायचौर र मुसीकोट नगरपालिका–१, पौदी अमराईमा गरेर दुई वटा सबस्टेसन गुल्मीमा छन् । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कपिलवस्तुको मोतीपुरदेखि–सन्धिखर्क–तम्घास–बुर्तिबाङ १३२ केभी प्रसारण लाइन सञ्चालन हुन लागेको हो । यो प्रसारण लाइनको विस्तारले कपिलवस्तु, अर्घाखाँची, गुल्मी, बागलुङसहित छिमेकी जिल्लाका नागरिकलाई ठुलो राहत पुग्ने छ ।

आयोजनाका अनुसार डबल सर्किट प्रसारण लाइनमा १३२ हजार भोल्टेज क्षमताको विद्युत् प्रवाह गरेर परीक्षण हुने भएकाले सचेत रहन सार्वजनिक सूचना प्रकाशन गरिएको छ । आयोजना प्रमुख इन्जिनियर मनोज चौधरीले फागुन ३ र ४ गते परीक्षण गरेर ५ गतेदेखि पूर्ण रूपमा १३२ केभी विद्युत् प्रसारण हुने बताउनुभयो ।

उहाँले प्रसारण लाइन विस्तार भएको चार जिल्लाका टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावरवरिपरि नजान, घरेलु जनावरलाई टावरवरिपरि नछोड्न, खतराको सङ्केत गरिएका विद्युतीय संरचनालाई नछुन तथा प्रसारण लाइनको तारवरिपरि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको आयोजना प्रमुख चौधरीले बताउनुभयो । 

आयोजना प्रमुख चौधरीले एउटै जिल्लामा दुई वटा राष्ट्रिय प्रसारण लाइनको दुई वटा सबस्टेसन गुल्मीमा मात्र रहेको बताउनुभयो । अहिलेसम्म चार अर्ब रुपियाँ बजेट आयोजनामार्फत खर्च भएको छ । नियमित र गुणस्तरीय विद्युत् प्रवाह, उद्योग विस्तार गर्न पर्याप्त विद्युत् हुने, हाइड्रोपावर जोड्दै लैजाने आयोजना प्रमुख चौधरीले बताउनुभयो ।

यस आयोजनामार्फत कपिलवस्तुको मोतीपुरबाट अर्घाखाँची सन्धिखर्क हुँदै गुल्मीको उनायचौर पौदी अमराईदेखि बागलुङको बुर्तिबाङसम्म ८६ किलोमिटर दुरीमा पाँच वटा सबस्टेसन निर्माण भएका छन् । सबस्टेसन निर्माणसँगै प्रसारण लाइन विस्तारको काम पनि भएको छ । १३२ केभी प्रसारण लाइनले कपिलवस्तु, अर्घाखाँची, गुल्मी र बागलुङलाई प्रत्यक्ष फाइदा पुग्ने पूर्वऊर्जामन्त्री गोकर्ण विष्टले बताउनुभयो । उहाँले राष्ट्रिय प्रसारण लाइनको विस्तारसँगै गुल्मी र बागलुङ भएर बग्ने नदीको विद्युत् उत्पादन जोडेर औद्योगिक क्षेत्रसम्म विस्तार गरिने बताउनुभयो । 

विष्टले भन्नुभयो, “ऊर्जामन्त्री भएका बेला समावेश गरिएको आयोजना लामो समयपछि सफल भएकोमा खुसी छु । ऊर्जा विकासमार्फत चार जिल्लाका नागरिकको जीवनका आयोजनाको ठुलो महत्व राख्ने छ ।” 

राष्ट्रिय प्रसारण लाइन सञ्चालन भए पनि अनियमित विद्युत्को सास्ती खेपेका नागरिकलाई राहत भएको छ । नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका इन्जिनियर भरत पोख्रेलले उनायचौर सबस्टेसनबाट गुल्मेली नागरिकले सेवा लिइरहेको बताउनुभयो । सबैभन्दा बढी लाभान्वित रेसुङ्गा नगरपालिकाका नागरिक र जिल्लाभर पुराना सबस्टेसनमार्फत विद्युत् आपूर्ति गरिएको पोख्रेलले बताउनुभयो ।  

   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।