रेसुङ्गा (गुल्मी), चैत १६ गते । गुल्मीको सत्यवती गाउँपालिका भार्सेलाई लाहुरेगाउँ भनेर चिनिन्छ । सो गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत अध्ययन केन्द्र बन्दै गएको छ । गुल्मीको भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेको तस्बिर र इतिहासका लागि स्थापना गरिएको भार्से भूपू गोर्खा तस्बिर ग्यालरी उद्घाटन गरिएको छ ।
ग्यालरीको भारतीय कर्णेल एसएस सिंहले उद्घाटन गर्नुभयो । १९ वर्षकै उमेरमा बेलायतको भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानाको सालिक अनावरण गर्दै कर्णेल सिंहले गोर्खालीको वीरताको इतिहासको संरक्षण, पुख्र्यौली कला, संस्कृतिको संरक्षण र प्रचारमा भूपू गोर्खाका भार्सेलीले खेलेको भूमिका निकै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले यो कामको नेतृत्व गर्ने लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको टोलीप्रति आभार प्रकट गर्नुभयो ।
बुढाथोकीको पहलमा गोर्खा ग्यालरी र भार्से भूपू गोर्खा तस्बिर ग्यालरी गरेर दुई वटा संरचना निर्माण गरिएका छन् । गोर्खा ग्यालरीमा अहिलेसम्म एक जना जीवित र २४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ भने भार्से भूपू गोर्खा तस्बिर ग्यालरीमा नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानाको सालिकसहित भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुवा गिरिप्रसाद बुढाथोकीको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ ।
सत्यवती गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले भार्सेसहित समग्र भार्सेको पर्यटकीय विकासमा बुढाथोकीले खेलेको भूमिका र भएका काम निकै उदाहरणीय भएको बताउनुभयो । लेफ्टिनेन्ट बुढाथोकीले विश्वमा पर्यटकीय विकासबाट धेरै आर्थिक समृद्धि सम्भव भएकाले भार्सेको प्राकृतिक आनन्दताभित्र ऐतिहासिक पक्षको पनि उजागर गरेर बसाइँसराइको नियन्त्रण र पर्यटन विकासमा टेवा पु¥याउने आफूहरूको उद्देश्य भएको बताउनुभयो ।
अहिलेसम्मको प्रमाणका आधारमा भार्सेबाट प्रथम विश्वयुद्ध लड्ने ८४ र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना रहेका छन् । भूपू गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको भार्सेका अगुवा नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
भार्से भूपू गोर्खा तस्बिर ग्यालरीमा भार्सेली भारतीय, ब्रिटिस, नेपाली सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारीको तस्बिर राखिएको छ । नेपाल प्रहरीका डिआइजी नीरज पुन तथा नेपाली सेनाको मेजर जनरल नरबहादुर बुढाथोकीलगायत ६८४ मध्ये करिब चार सय जनाको फोटो राखिएको छ । ग्यालरीमा लाहुरेबाहेक मुखिया, लामा, निजामती कर्मचारीलगायतको तस्बिर पनि राखिएको छ ।