• २० फागुन २०८२, बुधबार

अग्निपीडितको गुनासो चोट बुझ्दैनन्, भोट माग्छन्

blog

रेसुङ्गा (गुल्मी), माघ १६ गते । गुल्मीको इस्मा गाउँपालिकाको कोटकोटरीका बलबहादुर दर्जीको घरमा आगलागी हुँदा उहाँको आधा शरीर जलेको छ । सानैमा आगलागीमा परेका उहाँ लामो समयको उपचारपछि जेनतेन उभिन सक्ने हुनुभयो । बलबहादुरले ठुलै प्रगति गर्न नसके पनि गाउँमा जेनतेन परिवार चलेकै थियो । फेरि २०८१ वैशाख ८ गते जङ्गलको आगो बस्ती पसेपछि शरीरको लुगाबाहेक केही रहेन । पीडामा एकछिन थुमथुम्याउने धेरै भए । 

आहतका बेला नेता र कर्मचारीले बाँडेका आश्वासन अनुसार तत्काल घर पाउने आशा थियो तर दुई वर्ष पुग्न थाल्दा पनि घर आधा र छिमेकीको बास छ । गाउँ छोएको चुनावले बलबहादुरको मनमा ऊर्जा भरेको छैन । उहाँले भन्नुभयो, “नयाँ पुराना दलका नेता आएर दैलोमा आश्वासन बाँड्न थाले, आफूलाई पीडाले बोल्नै मन छैन । अलपत्र आधा घर र जलेको शरीर कसैले देख्दैनन् ।” सरकारले अग्निपीडितसँग घर निर्माणका लागि सम्झौता गरे बमोजिमको रकम नदिँदा समस्या भएको छ । 

उहाँले निर्माण व्यवसायीले बनाएको आधा घरको समेत पैसा दिन सक्ने अवस्था नभएको बताउनुभयो । करिब दुई वर्षदेखि छिमेकीकहाँ बसेका दर्जीले घरधनी घर खोज्दै आए आफूले छोडेर चौरमा पाल टाँग्ने अवस्था रहेको गुनासो गर्नुभयो । बलबहादुरले पैसा हुने र ऋण पत्याउनेले थपेर घर निर्माण गरे पनि आफू आमाछोराको अवस्था त्यस्तो नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “चोट सहेर भोट कसरी हालाैँ, घरमा दैनिक आउने नेतालाई यही भनेको छु । चुनावपछि कसैले फर्केर हेर्दैनन् ।” आगलागीले इस्माका मात्रै ४९ घरगोठ जलेर नष्ट भएका थिए । ऋणधन गरेर घरगोठ निर्माण गरेकालाई पनि सरकारले पैसा नदिएपछि निर्माण व्यवसायीको टोकसो सुनिरहनु परेको छ । 

कोटकोटेरीकै आगलागीले सुन्दरलाल विकको फेन्सी र किराना पसलसहितको घर जलेर नष्ट भएको थियो । आगलागीले किराना बेच्ने विकलाई दातासँग दालचामल थाप्नेदेखि छिमेकीकहाँ ओत खोज्नेसम्म बनायो । सरकारले घर बनाउने भनेपछि विकसहितका अग्निपीडितले गाउँपालिकासँग सम्झौता गरेर काम अगाडि बढाए तर आधा घर बन्दासम्म गाउँपालिकाबाहेक सङ्घ र प्रदेशले किस्ता पठाएनन् । 

निर्माण व्यवसायीले बिचमै काम छोडे । उहाँले गाउँमा डेढ लाख ऋण खोजेर घर छाउनुभयो । पैसा नभएका कारण आधा घर अलपत्र परेर बसेका पीडित परिवार गाउँमा छन् । घर छाएर बसेपछि सुन्दरलालको मन बेचैन छ किनकि साढे तीन लाख रुपियाँ निर्माण व्यवसायीलाई दिने उपाय छैन, सरकारले किस्ता पठाउँदैन । अग्निपीडित परिवारले आवास निर्माणका लागि पाँच लाख रुपियाँ पाउने व्यवस्था छ । त्यसमध्ये इस्मा पालिकाले एक लाख र चार लाख प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउनुपर्ने हो । चार लाखमध्ये पहिलो किस्ता ५० हजार रुपियाँबाहेक अरू रकम आएको छैन । 

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले आगलागी र मनसुनजन्य क्षतिका ३५९ जना पीडितलाई पहिलो किस्ता प्रदान गरेको बताउँदै दोस्रो किस्ताको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।  

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।