• १० चैत २०८२, मङ्गलबार

‘आधारभूत विकासका मुद्दा प्राथमिकतामा’

blog

गुल्मी, चैत १० गते । प्रहरी सेवामा हुँदा भिजिट भिसा, नक्कली भुटानी शरणार्थी जस्ता चर्चित विषयको अनुसन्धानमा संलग्न रहनुभएका गोविन्द पन्थीलाई अवकाशपछि पनि सामाजिक काममा सक्रिय हुने इच्छा थियो । अवकाशलगत्तै उहाँ खाली बस्नुभएन, वकालतमार्फत आफ्नो कानुनी यात्रालाई निरन्तरता दिइरहनुभयो । यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–२ बाट उम्मेदवार मात्र बन्नुभएन नेकपा (एमाले) का उपाध्यक्ष गोकर्ण विष्टलाई पराजित गर्नुभयो । 

गुल्मीको मदाने–७, भनभनेमा २०३१ फागुन १६ गते जन्मिएका पन्थी एक वर्षअघि मात्र नेपाल प्रहरीको डिएसपी (प्रहरी नायब उपरीक्षक) बाट अवकाश पाउनुभएको हो । यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ कसैलाई नउठाए पनि समानुपातिकमा भने चार हजार २६३ मत पाएको थियो । उहाँ आफ्नो जितलाई व्यक्तिगत उपलब्धि नभई, समग्र क्षेत्रका जनताको साझा जितका रूपमा व्याख्या गर्नुहुन्छ । पन्थीका अनुसार यो परिणाम केवल चुनावी प्रतिस्पर्धा मात्र होइन, जनतामा पलाएको परिवर्तनको चाहना, सुशासनप्रतिको अपेक्षा र नयाँ सोचप्रतिको विश्वासको प्रतिफल हो ।

आफ्नो पछिल्लो अनुभव र पृष्ठभूमिले आफूलाई नेतृत्वमा इमानदारिता, अनुशासन र जवाफदेहिताको मूल्य स्थापित गर्न मद्दत गर्ने बताउँदै उहाँ भन्नुहुन्छ, “जनताले भाषणभन्दा काम खोजेका छन्, आश्वासनभन्दा परिणाम चाहेका छन् ।” यही कारणले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र व्यावहारिक योजना प्रस्तुत गरेको उहाँ बताउनुहुन्छ ।

जनप्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका उहाँले १६ हजार ९६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका विष्टले १६ हजार ४०६ मत प्राप्त गर्नुभएको थियो । निर्वाचनपछि पन्थीको प्राथमिकतामा आधारभूत विकासका मुद्दा छन् । सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवा सुधारलाई उहाँले पहिलो प्राथमिकतामा राख्नुभएको छ । साथै कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र युवा पलायन रोक्ने कार्यक्रमलाई दीर्घकालीन रणनीतिका रूपमा अघि सार्न चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँमा उत्पादन बढाउन सके मात्र अर्थतन्त्र चलायमान हुन्छ ।”

विशेष गरी वन्यजन्तु बाँदर र बँदेलका कारण किसानले भोग्दै आएको समस्या समाधानमा उहाँ गम्भीर देखिनुहुन्छ । तत्काल राहत र दीर्घकालीन व्यवस्थापनका योजना बनाएर कृषकलाई सुरक्षित उत्पादन वातावरण उपलब्ध गराउने उहाँको प्रतिबद्धता छ । उहाँका अनुसार किसानको सुरक्षा र उत्पादनको सुनिश्चितबिना ग्रामीण विकास सम्भव छैन ।

जनताको अपेक्षालाई केन्द्रमा राख्दै पन्थी सुशासन, भ्रष्टाचारमुक्त सेवा प्रवाह, छिटो र प्रभावकारी कामकाज तथा रोजगारीका अवसर विस्तारमा ध्यान केन्द्रित गर्ने बताउनुहुन्छ । “मैले गरेका प्रतिबद्धता योजनाबद्ध, पारदर्शी र सम्बन्धित निकायसँगको समन्वयमा कार्यान्वयन गर्ने छु,” उहाँको भनाइ छ । चुनौती अवश्य छन् तर दृढ इच्छाशक्ति, जनताको साथ र सही नीति भए ती पार गर्न सकिने उहाँको विश्वास छ । पन्थीले विकास र परिवर्तन कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने भन्दै सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुहुन्छ ।   

Author
रमेश विश्वकर्मा

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि गुल्मी समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।