• ८ भदौ २०८२, आइतबार

गुल्मीमा ३४ हजारभन्दा बढीलाई कोभिड विरुद्धको खोप

blog

गुल्मी, भदौ ८ गते। गुल्मीका ३३ हजारभन्दा बढी नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइँदै छ। जिल्लामा दुई नगरपालिका र दस गाउँपालिका गरेर १२ स्थानीय तहका ३४ हजार ८६ जना नागरिकलाई कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक मोनोभ्यालेन्ट नामक खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो।

जनस्वास्थ्य अधिकृत आचार्यका अनुसार जिल्लामा रहेका विभिन्न खोप केन्द्रमार्फत् यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।करिब ३७२ खोप केन्द्रमार्फत् १२ वर्ष वा सोभन्दा माथि उमेर समूहका नागरिकलाई लगाइने उहाँले बताउनुभयो।कोभिड–१९ विरुद्धको निश्चित औषधी उपचार नभएकाले सङ्क्रमणबाट बच्नका लागि खोप लगाउन जरुरी रहेको आचार्यले बताउनुभयो।

जिल्लाको रेसुङ्गा नगरपालिकामा छ हजार, मुसिकोट नगरपालिकामा चार हजार दुई, कालीगण्डकी गाउँपालिकामा एक हजार ७८२, सत्यवती गाउँपालिकामा तीन हजार ५०४, चन्द्रकोट गाउँपालिकामा दुई हजार १८४, रुरुक्षेत्र गाउँपालिकामा दुई हजार चार, छत्रकोट गाउँपालिकामा दुई हजार ५०२ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने उहाँले जानकारी दिनुभयो।

त्यसैगरी गुल्मीदरबार गाउँपालिकामा तीन हजार ५०४, इस्मा गाउँपालिकामा एक हजार ५००, धुर्कोट गाउँपालिकामा दुई हजार १००, मदाने गाउँपालिकामा दुई हजार २०२ र मालिका गाउँपालिकामा दुई हजार ८०२ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइने छ। कोभिड १९ विरुद्धको यो खोप लगाउने कार्यलाई तीब्र रूपमा अगाडि बढाइएको जनस्वास्थ्य अधिकृत आचार्यले बताउनुभयो।