हुम्ला समाचारदाता
हुम्ला, वैशाख १६ गते । हुम्लाका दक्षिणी क्षेत्रको सर्केगाड गाउँपालिका–१ को तुम्चगाउँको देव आधारभूत विद्यालयका विद्यार्थीले बल्ल कक्षाकोठा पाएका छन् । विगतमा कक्षाकोठा नहुँदा खुला चौरमा बसेर पढ्नुपर्ने उनीहरूको बाध्यता थियो । सहयोगी निकायले एकसाथ तीन वटा भूकम्पप्रतिरोधी नयाँ भवन निर्माण गरिदिएपछि विद्यार्थीले कक्षाकोठा पाएका हुन् ।
विद्यालयका प्रधानाध्यापक मदन बुढाले १० वर्षदेखि चौर र जीर्ण भवनमा अध्ययन अध्यापन गराउँदै आएको स्मरण गर्दै भन्नुभयो, “विगतमा निकै सकसका दिन यहाँका विद्यार्थीले काट्दै आएका थिए । भवनको अभावमा पानी परे पनि घाम चर्के पनि विद्यालय बन्द गर्नुपर्ने हुन्थ्यो । अब त्यस्तो बाध्यता हटेको छ ।”
उहाँले विद्यालय बिजोग र विद्यार्थीको पीडालाई देखेर सहयोगी निकायले नयाँ भवन निर्माण गरिदिएपछि निकै सहज भएको बताउनुभयो । विद्यालयको एउटा भवन छ महिनाअगाडि सम्पन्न भएर सञ्चालनमा आएको थियो भने दुई वटा भवन भने भर्खरै सम्पन्न भएर विद्यालयलाई हस्तान्तरण गरिएको हो । बालविकासदेखि कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा २०६ विद्यार्थी अध्ययरत छन् । हाल निर्माण सम्पन्न भएका तीन वटा भवनमा जम्मा १३ वटा कोठा छन् । अहिलेका लागि ती कोठा पर्याप्त भए पनि विद्यालयलाई मावि तहसम्म स्तरोन्नति गर्दा भने अपुग हुने विद्यालयले जनाएको छ ।
विद्यालयले मावि तह सञ्चालनका लागि अनुमति लिने तयारी गरिरहेको छ । कक्षा ८ पास गरेपछि कक्षा ९ र १० अध्ययनका लागि जैरगाउँको सरस्वती माविमा पुग्ने गर्छन् । त्यसका लागि त्यहाँका विद्यार्थी दैनिक करिब छ घण्टा हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । विद्यालयको भवन गैरसरकारी संस्था नेपाल लोककल्याण सङ्घ (सुवान) ले निर्माण गरिदिएको हो भने कक्षाकोठामा आवश्यक सामग्री लागि सामाजिक विकास कार्यालयले सहयोग गरेको जनाएको छ ।