• १६ वैशाख २०८३, बुधबार

मेलुङका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

blog

कृषकलाई हाते ट्याक्टर वितरण गरिँदै । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, वैशाख १६ गते ।
दोलखाको मेलुङ गाउँपालिका–६ का कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । वडाको चालु आर्थिक वर्षको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत २८ जना सक्रिय कृषकलाई एक कार्यक्रमबीच हाते ट्याक्टर वितरण गरिएको मेलुङ गाउँपालिका–६ का वडाध्यक्ष कुसुम लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडाले चालु आवको खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत विनियोजित रु। पाँच लाख बजेटमार्फत विभिन्न बस्तीका कृषकलाई परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले हाते ट्याक्टर ९मिनिटिलर र हलो० वितरण गरिएको हो ।

देवीथान, हिले तामाङ गाउँ, हिले थापागाउँ, तीनपिप्ले लगायतका बस्तीका कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडाले जनाएको छ । वडा कार्यालयले कृषकको माग र आवश्यकतालाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा उपकरण उपलब्ध गराएको हो ।

पछिल्ला दिनहरूमा गाउँघरमा परम्परागत गोरु पाल्ने चलन घट्दै गएको र खेतबारी जोत्न समस्या भइरहेका बेला हाते ट्याक्टर वितरणले राहत पुगेको स्थानीय कृषकको भनाइ छ ।

“गोरु पाल्ने चलन घट्दै गएको छ, हलो–जुवा बनाउने सीप पनि हराउँदै गएको छ । महिलाले समेत सजिलै जोत्न सक्ने भएकाले हाते ट्याक्टर उपयोगी बनेको छ,” स्थानीय कृषकहरूले बताएका छन् ।

हिउँदे र बर्खे खेती दुवैमा हाते ट्याक्टरले सहजता ल्याउने भएकाले कृषकको मागअनुसार वितरण गरिएको वडाले जनाएको छ ।

मेलुङ मात्र नभई पछिल्लो समय दोलखा जिल्लाभर परम्परागत गोरुले जोत्ने प्रचलन घट्दै गएको छ भने यान्त्रिक उपकरणको प्रयोग बढ्दै गएको छ । हाते ट्याक्टर प्रयोगले छोटो समयमा धेरै खेतबारी जोत्न सकिने, समयको बचत हुने तथा गोरु पाल्ने झन्झट नहुने कृषकहरूको भनाइ छ ।