बागलुङ समाचारदाता
बागलुङ, वैशाख १६ गते । एघार महिनामा काम सम्पन्न गर्ने गरी निर्माण थालिएको बागलुङ नगरपालिकाको नारायणस्थान स्वास्थ्य चौकीको भवन दुई पटक म्याद थप हुँदा पनि सम्पन्न हुन सकेको छैन । हालसम्म निर्माणमा ६५ प्रतिशत प्रगति भएको छ । भवन निर्माणको काम तोकिएको समयमा नसकिँदा तीन दशकअघि बनेको जीर्ण भवनबाटै बिरामीलाई सेवा दिनुपर्ने बाध्यता छ ।
२०८० वैशाखमा ११ महिनाभित्र भवन निर्माण सक्ने गरी सम्झौता गरेको डी एन्ड जी प्रसाद संयुक्त ठेकेदार कम्पनीले दुई पटक म्याग्द थप्दा पनि काम सकेको छैन । बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले भन्नुभयो, “भवन अहिलेसम्म ६५ प्रतिशत मात्र पूरा भएको छ । बाहिरी ढलान भए पनि भित्री काम धेरै बाँकी नै छ ।”
सङ्घीय सरकारको एक करोड ७८ लाख रुपियाँको लागतमा निर्माणाधीन भवन समयमा पूरा नभएपछि हालसम्म ९० लाख मात्रै भुक्तानी भएको थियो र बाँकी रकम फ्रिज भएको थियो । भवन सम्पन्न गर्न स्वास्थ्य मन्त्रालयले विनियोजन गरेको ३८ लाख भुक्तानी भइसकेको छ । अब बाँकी ५८ लाख रुपियाँ नगरपालिकाको जिम्मामा आएको छ । ठेकेदार कम्पनीले भने बजेट अभावमा काम पूरा गर्न नसकेको दाबी गर्दै आएको छ । ठेकेदार गौरीशङ्कर प्रधानले भन्नुभयो, “बजेट भुक्तानीमा समस्या आउँदा काममा ढिलाइ भएको हो । नगरपालिकाले काम गरेको बजेट भुक्तानी गरेमा समयमै काम सकिन्छ ।”
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पटक पटक ताकिता गरे पनि ठेकेदारले बेवास्ता र अटेरी गर्दै आएको बताउनुभयो । ठेकेदारको हेलचेक्रयाइँले तोकिएको समयमा काम सम्पन्न नहुँदा बनेका संरचना रुग्ण भइरहेको खड्काको भनाइ छ ।
भवन अभावले स्वास्थ्य चौकीले दिने सेवा प्रभावकारी बन्न नसकेको स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले गुनासो गर्नुभयो । शर्माले भन्नुभयो, “साँघुरो र जीर्ण भवनबाट चाहेर पनि सेवा प्रभावकारी बनाउन सकिएको छैन । ठाउँको अभावमा डेङ्गु र हात्तीपाइलेका बिरामीलाई गोप्य कोठामा राखेर उपचार सेवा दिन सकिएको छैन ।”
स्वास्थ्य चौकीबाट गत वर्ष चार हजार तीन सय बिरामीले सेवा लिएका छन् । भवन बनेपछि एक जना मेडिकल अफिसर राखेर सेवा प्रवाह बढाउन वडा कार्यालयले नगरपालिकामा प्रस्तावसमेत गरेको छ । ठेकेदारलाई ध्यानाकर्षण गर्दै नगरपालिकामार्फत स्वास्थ्य चौकी व्यवस्थापन समितिले १३ वटा बैठक बसेर पत्राचार गरे पनि भवनको काम सम्पन्न गराउन नसकिएको वडाध्यक्ष चक्रबहादुर खत्रीले गुनासो दिनुभयो ।