• १० चैत २०८२, मङ्गलबार

दन्त चिकित्सक एक साताका लागि निलम्बित

blog

नेपाल मेडिकल काउन्सिल

काठमाडौँ, चैत १० गते । दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक दन्त चिकित्सकलाई एक साताका लागि निलम्बन गरेको छ ।

काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजयकुमार साहलाई सात दिनसम्म सेवा गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको हो ।

काउन्सिलका अनुसार डा. साहविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा उपचार प्रक्रियामा त्रुटि भएको निष्कर्षमा पुगिएपछि उक्त कारबाही गरिएको हो ।

त्यसोत, पीडित सबु चौधरीले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिनुभएको एक वर्ष बित्दा पनि गुनासो सुनुवाइ नभएपछि उपभोक्ता अदालतमा चिकित्सकीय लापरबाही र क्षतिपूर्तीको मुद्दा दायर गर्नुभएको थियो ।

उहाँको मुद्दा दायरपछि उपभोक्ता अदालतले तीन महिनामा नै फैसला सुनाउदै गत माघमा चिकित्सकिय लापरबाही भएको ठहर गरेको थियो । अदालतले पीडित चौधरीलाई पाँच लाख ९२ हजार क्षतिपूर्ती भराउने गरी फैसला गरेको अधिवक्ता सुविन पाण्डेले जानकारी दिनुभयो । उक्त मुद्दामा अधिवक्ता पाण्डेसँगै अधिवक्ता आकृति त्रिपाठीले बहस पैरबी गर्नुभएको थियो । अधिवक्ता पाण्डेका अनुसार उपभोक्ता अदालतको फैसला आएपछि नेपाल मेडिकल काउन्सिलले बाध्य भइ निर्णय सुनाएको हो र काउन्सिलको ढिलासुस्तीले धेरै उजुरी बिचाराधिन भइ पीडितको न्याय पाउने हक हनन भइरहेको छ ।

गत वर्ष चैत ५ गते काठमाडौँको कुलेश्वर निवासी २६ वर्षीया चौधरी अत्यधिक दाँत दुखेपछि उपचारका लागि डेन्टल भिजन प्रालि पुग्नुभएको थियो । उहाँले डा. साहसँग चार चरणमा उपचार गराउनुभइको थियो ।

तीमध्ये प्रारम्भिक तीन चरण सामान्य रहे पनि चौथो चरण अत्यन्त पीडादायक भएको भन्दै उहाँले नेपाल मेडिकल काउन्सिल दिनुभएको उजुरीमा उल्लेख छ ।

उजुरीमा बिना एनेस्थेसिया उपचार गरिएको र पटक–पटक एक्स–रे गर्दा असह्य पीडा भएको उल्लेख गरिएको छ । उपचारपछि गिजामा सङ्क्रमण, सुजन र असहजता देखिए पनि चिकित्सकले त्यसलाई गम्भीर रूपमा नलिएको आरोप उहाँको छ ।

पछि अन्य चिकित्सकसँग परीक्षण गराउँदा आरसीटी (रुट क्यानल उपचार) अपूरो रहेको र त्यसका कारण अवस्था जटिल बनेको भन्दै अन्ततः दाँत नै निकाल्नुपर्ने अवस्था आएको उहाँको दाबी छ ।

अपुरो उपचारका कारण स्वास्थ्यमा असर परेको, अध्ययन, काम तथा सामाजिक जीवनमा बाधा पुगेको र आत्मविश्वाससमेत घटेको उल्लेख गर्दै उहाँले काउन्सिलमा उजुरी दिनुभएको थियो ।

काउन्सिलले अस्पतालका कागजात, उपचारमा संलग्न चिकित्सकको बयान तथा विषयविज्ञको रायका आधारमा उपचारमा त्रुटि भएको निष्कर्ष निकाल्दै एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।