तिलाचन पाण्डे
तम्घास (गुल्मी), चैत १० गते । गुल्मीमा गाउँबाट सहरतर्फ बसाइँसराइँ गर्ने क्रम रोकिएको छैन । गाउँमा विकास पुगे पनि बसाइँसराइँ भने सहरमुखी नै रहेको पाइएको छ ।
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे हुँदै जानु, स्वास्थ्य र शिक्षाको गुणस्तरमा सुधार हुँदै जाँदा पनि बसाइँसराइँको दर भने बढ्दो क्रममा रहेको देखिएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा २० महिनाको अवधिमा ३४४ घरपरिवारका १,२९४ जनाले गाउँ छाडेका छन् ।
गाउँपालिकाको पञ्जीकरण शाखाका चोकबहादुर श्रीसका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म १५६ परिवारका ५४६ जना र चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १८८ घरपरिवारका ७४८ जना गरी कुल ३४४ घरपरिवारका १ हजार २९४ जना बसाइँसराइँ गरी बाहिरिएका हुन् ।
पालिकाभित्रका सात वडामध्ये सबैभन्दा बढी वडा नं. २ अर्वेनीबाट ७० घरपरिवारका २८८ जना र वडा नं. ६ खडगकोटबाट ७७ घरपरिवारका २८० जनाले बसाइँसराइँको प्रमाणपत्र लिएका छन् । वडा नं.१ बाट ३९ घरपरिवारका १६३ जना, वडा नं. ३ बाट २१ घरपरिवारका ९२ जना, वडा नं. ४ बाट ३० घरपरिवारका ११७ जना, वडा नं. ५ बाट ४८ घरपरिवारका १५२ जना र वडा नं.७ बाट ५९ घरपरिवारका २०२ जनाले बसाइँसराइँ गरेका छन् ।
यस अवधिमा २१ घरपरिवारका ७९ जना अन्यत्रबाट बसाइँ सरी पालिकाभित्र आएका छन् । साथै, बसाइँसराइँ दर्ता नगरी गाउँबाट सहरमा कोठा भाडामा बस्ने र छोराछोरी पढाउन जानेको सङ्ख्या पनि उल्लेख्य रहेको पाइएको छ ।
गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार कृषि र पशुपालनलाई व्यवसायीकरण गरी बसाइँसराइँ न्यूनीकरण गर्ने उद्देश्यले उत्पादनमा आधारित अनुदान नीति अवलम्बन गरिएको छ । सुन्तलाका बिरुवा रोप्ने किसानलाई खाडल खन्न अनुदान दिने तथा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने गरी पालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।
उक्त अवधिमा गाउँपालिकाभित्र १ हजार ५९२ जनाको जन्म भएको छ, जसमा ८४६ पुरुष र ७४६ महिला छन् । गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी’ कार्यक्रममार्फत सुत्केरी भेट्न जाँदा सम्भव भएमा स्थानीय कुखुराको भाले, नभए घिउँ लिएर जाने गरिएको उपाध्यक्ष मञ्जु दर्लामीले बताउनुभयो ।
यसैगरी पालिकाले छोरी जन्मिएमा बैंक खाता खोली १० हजार रुपियाँ जम्मा गरिदिने नीति लिएको छ । छोरीको नागरिकता बनेपछि मात्र उक्त रकम झिक्न मिल्ने व्यवस्था गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
यस अवधिमा पालिकाभित्र ५२६ जनाको मृत्यु भएको छ, जसमध्ये ३११ पुरुष र २१५ महिला रहेका छन् । त्यस्तै ५२ जनाको सम्बन्ध विच्छेद भएको र ५९५ जनाको विवाह भएको पञ्जीकरण शाखाले जनाएको छ ।