भवानीदत्त भट्ट
बेलौरी (कञ्चनपुर), चैत १० गते । कञ्चनपुरको बेलडाँडी गाउँपालिकास्थित एक विद्यालयमा विगत छ महिनायता गणित विषयको पठनपाठन ठप्प छ । गाउँपालिकाको वडा नं. ५ भुर्सास्थित गणेश माध्यमिक विद्यालयमा गणित विषयको शिक्षक मिलानमा गाउँपालिकाले मनोमानी गरेपछि विद्यार्थीको पठनपाठनमा अवरोध पुगेको हो । गत असोज ९ गते बसेको गाउँ कार्यपालिका बैठकले वडा नं. २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृपाराम उपाध्यायलाई शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन गर्ने भन्दै वडा नं. ५ स्थित गणेश मावि मोहनपुर भुर्सामा पदस्थापन गर्ने निर्णय ग¥यो ।
शिक्षक दरबन्दी मिलानका क्रममा पालिकाको शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले तयार पारेको प्रस्तावमाथि टेकेर गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले गणित विषयका स्थायी शिक्षक उपाध्यायलाई गणित विषयको स्थायी दरबन्दीसमेत नभएको गणेश माविमा राहतमा दरबन्दी मिलान गर्ने निर्णय गरेपछि सो विद्यालय गणित शिक्षकविहीन बन्न पुगेको हो ।
विसं २०७६ देखि रौलेश्वर माविमा गणित शिक्षक तथा प्रधानाध्यापक रहनुभएका उपाध्यायले दरबन्दी नै नभएको विद्यालयमा मनोमानी ढङ्गले पदस्थापन गर्ने निर्णयविरुद्धमा प्रशासकीय अदालतमा निर्णय खारेजीको मागसहित निवेदन दर्ता गर्नुभएको थियो । अदालतले गरेको फैसला अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४, शिक्षा ऐन, २०८२, शिक्षा नियमावली २०५९, शिक्षक सरुवा निर्देशिका २०८१ का साथै शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०७६ समेतको विपरीत हुने गरेर उपाध्यायको पदस्थापन गरिएको उल्लेख छ ।
रौलेश्वर माविमा नै अध्यापन गर्न लगाउन दिएको आदेशको समेत पालना नगर्दै गाउँपालिकाले उक्त आदेशविरुद्ध पुनरावेदन दिएको थियो । पालिकाका शिक्षा शाखा प्रमुख जोशी तथा गाउँपालिका अध्यक्ष रानाले शिक्षक उपाध्यायलाई राहत दरबन्दीमा पदस्थापन गर्नकै लागि अदालतको आदेशविरुद्ध पुनरावेदन गरेको हो । पुनरावेदनको टुङ्गो नलाग्दासम्म शिक्षक उपाध्यायलाई यथास्थितिमा राख्न अदालतले गत कात्तिक २७ गते आदेश जारी गरेको थियो ।
अदालतको आदेश अटेर, तलब रोक्का
अदालतको आदेशको अटेर गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष राना र शिक्षा शाखा प्रमुख जोशीले शिक्षक उपाध्यायलाई गणेश माविमा अध्यापन गराउन नैतिक दबाब सिर्जना गर्न खोजेको गाउँपालिकाका उपाध्यक्ष शान्तिनाथले बताउनुभयो । कार्यविधिविपरीत निर्णय नगर्न आग्रह गरे पनि अध्यक्षको मनोमानीका कारण गणेश माविमा गणित शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको उपाध्यक्ष नाथले बताउनुभयो । अदालतको आदेश अटेर गर्दै शिक्षा शाखाले विगत छ महिनायता शिक्षक उपाध्यायलाई तलबसमेत उपलब्ध गराएको छैन । रौलेश्वर माविमा अध्यापन गराउँदै आउनुभएका उपाध्यायले विगत छ महिनादेखि पालिकाले तलबसमेत नपठाएको गुनासो गर्नुभयो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख जोशीले भने गणेश माविमा शिक्षक अभाव भएपछि उपाध्यायलाई पठाउन खोजिए पनि नजाँदा पठनपाठनमा केही समस्या देखिएको बताउनुभयो ।