• १० चैत २०८२, मङ्गलबार

लमजुङमा आठ महिनामा ६२ जना क्षयरोगी थपिए

blog

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटस्थित ज्येष्ठनागरिक आश्रममा क्षयरोग स्क्रिनिङ गर्दै स्वास्थ्यकर्मी । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, चैत १० गते ।
लमजुङमा चालु आर्थिक वर्षको आठ महिनामा ६२ जना नयाँ क्षयरोगका बिरामी भेटिएका छन् । चालु वर्षको साउनदेखि फागुन मसान्तसम्म भेटिएका नयाँ ६२ जनामा क्षयरोगका बिरामी उपचारार्थ रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अनुसार सबैभन्दा धेरै बेसीशहर नगरपालिकामा १५ जना नयाँ सङ्क्रमित भेटिएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिकामा ११ जना, मध्यनेपाल नगरपालिकामा १४ जना, राइनासमा ८ जना, मस्र्याङ्दीमा ७ जना, दोर्दी गाउँपालिकामा ५ जना र दूधपोखरी गाउँपालिकामा २ जना नयाँ सङ्क्रमित फेला परेको ल्याब टेक्निसयन निरीक्षक निरोजकुमार श्रेष्ठले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८१/०८२ मा १०४ जनामा क्षयरोग देखिएकोमा ७ जनाको मृत्यु भएको ल्याब टेक्निसियन श्रेष्ठले बताउनुभयो ।

‘हो ! हामी क्षयरोग अन्त्य गछौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ मंगलबार विभिन्न कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदै गरेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ । कार्यालयले जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा पुगेर क्षयरोग तथा नसर्ने रोगको स्क्रिनिङ गर्दै आएको छ ।

स्वस्थ्य व्यक्तिसँगसँगै बस्दा श्वास–प्रश्वास गर्दा, खोक्दा, हाच्छ्युँ गर्दा, जहाँ पायो थुक्दा, बोलचाल गर्दा हवामा फैलिएका क्षयरोगका जिवाणु हावाका माध्यमबाट स्वस्थ व्यक्तिमा प्रवेश गरेमा क्षयरोग सर्ने स्वास्थ्यर्कीहरुले बताएका छन् ।

सन् २०३५ सम्ममा क्षयरोग (टीबी) मुक्त मुलुक बनाउने सरकारी लक्ष्य छ । तर अहिले पनि नेपालमा दैनिक ४४ जनाले क्षयरोगकै कारण ज्यान गुमाउने गरेको तथ्याङ्क छ । दैनिक १९० भन्दा बढी क्षयरोगका नयाँ बिरामी थपिहेका छन् ।