• ११ चैत २०८२, बुधबार

गैरसरकारी क्षेत्रको भूमिका : विषयगत प्रश्नोत्तर

blog

गैरसरकारी क्षेत्रको भूमिका 

१. विकास प्रक्रियामा गैरसरकारी क्षेत्रको संलग्नता किन महत्वपूर्ण मानिन्छ ? मुलुकको सर्वाङ्गीण विकासमा गैरसरकारी क्षेत्रको भूमिका उल्लेख गर्दै गैरसरकारी क्षेत्रको संलग्नताबाट प्राप्त विकासको लाभलाई समानुपातिक रूपमा वितरण गर्न सरकारको भूमिका कस्तो हुनु पर्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

समाजमा रहेका बहुआयामिक समस्या समाधान गरी समाज र मानिसको जीवनमा गुणात्मक परिवर्तन ल्याउने प्रक्रियालाई विकास प्रक्रियाको रूपमा बुझिन्छ । यो एक जटिल, बहुआयामिक र गतिशील प्रक्रिया हो । सरकार मात्रको एकल प्रयासले विकास प्रक्रिया सफल र सार्थक नहुन सक्छ । यसका लागि सरकार बाहिर रहेका निजी क्षेत्र, सहकारी संस्था, नागरिक समाज, सामाजिक तथा सामुदायिक सङ्घ संस्था, विकास साझेदारलगायतका पक्षहरूको साथ र सहकार्य जरुरत पर्छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि समेत बहुसरोकारवाला बिचको सहकार्य र साझेदारीमा जोड दिई लक्ष्य नम्बर सत्रलाई विश्वव्यापी साझेदारी र सहकार्यमा केन्द्रित गरिएको छ । यसबाट विकास प्रक्रियामा सरकार बाहिरका क्षेत्रको भूमिका र महत्वलाई विश्वव्यापी रूपमा स्वीकार गरिएको कुरा स्पष्ट हुन्छ । विकास प्रक्रियामा गैरसरकारी क्षेत्रको संलग्नता देहायका कारणले महत्वपूर्ण मानिन्छ :

समाजमा विद्यमान समस्या जटिल, बहुआयामिक र गतिशील हुने हुँदा समस्याको सही पहिचान र समाधानका लागि विकास प्रक्रियामा बहुपक्ष र बहुपात्रको संलग्नता आवश्यक हुने,

नागरिकका आवश्यकता र अपेक्षा असीमित हुने तर सरकारसँग स्रोतसाधन सीमित हुने हुँदा सरकार बाहिरका पात्रसँगको सहकार्य र साझेदारी आवश्यक हुने,

सरकारबाहिरका पात्रहरूसँग रहेको पुँजी, प्रविधि, सूचना, ज्ञान, अनुभव र क्षेत्रगत दक्षता उपयोग गरी विकास प्रक्रियालाई तीव्र र दिगो बनाउन,

सहभागितामूलक पद्धति अवलम्बन गरी विकास प्रक्रियाप्रति आमनागरिकको अपनत्व बोध गराउन,

सरकारको ध्यान पुग्न नसकेको वा सरकारको उपस्थिति कमजोर भएको दुर्गम क्षेत्र तथा सीमान्तकृत समुदायलाई विकासको मूल धारमा समाहित गराउन,

समावेशी र सहभागितामूलक विकास प्रयासमार्फत सामाजिक न्याय स्थापित गर्न,

सरकारको केन्द्रीकृत ढाँचा र प्रशासनिक जटिलताका कारण कतिपय कार्यमा प्रक्रियागत ढिलाइ हुने तर सरकार बाहिरका पात्रलाई सहभागी गराई कार्यसम्पादन गर्दा नतिजामूलक हुन सक्नेभएकाले,

कतिपय क्षेत्रमा सरकार बाहिरका क्षेत्रहरूले सरकारले भन्दा बढी मितव्ययी, प्रभावकारी र दक्षतापूर्वक कार्य सम्पादन गर्न सक्ने भएकाले, 

विकास प्रक्रियामा नवीन शैली र दृष्टिकोण परीक्षण गर्नसमेत सरकार बाहिरका पात्रहरूसँग सहकार्य गरिन्छ । 

विकास प्रक्रियामा गैरसरकारी क्षेत्रको भूमिका :

विकासका नीति, कानुन, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने, 

विकासका सम्भावना पहिचान तथा स्रोतसाधनको खोजी गर्न सरकारसँग हातेमालो गर्ने, 

अर्थतन्त्रको विकास र विस्तारका लागि पुँजी र प्रविधिको लगानी गर्ने,

रोजगारी र आय सिर्जना गरी नागरिकको जीवनस्तर सुधारमा योगदान गर्ने,

भौतिक तथा औद्योगिक पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सरकारसँग साझेदारी गर्ने,

सीमान्तकृत समुदायको विकास, सशक्तीकरण र उत्थानका लागि पहल गर्ने,

सामाजिक कुरिती, कुप्रथा, हानिकारक प्रचलन हटाई सभ्य र सुसंस्कृत समाज निर्माणका लागि योगदान गर्ने,

वातावरण संरक्षण, विपत् व्यवस्थापन तथा जलवायु परिवर्तनका जोखिम न्यूनीकरणका लागि सरकारसँग साझेदारी गर्ने,

सरकारका कामकारबाहीलाई जवाफदेही, पारदर्शी र नागरिकमैत्री बनाई सुशासन प्रवर्धन गर्न योगदान गर्ने ।

विकासको लाभ समानुपातिक वितरण गर्न सरकारको भूमिका :

गैरसरकारी क्षेत्रका संस्थालाई जिम्मेवार र जवाफदेही बनाउन सुदृढ नियमन ढाँचा तयार गर्ने,

राष्ट्रिय सदाचार नीति तर्जुमा गरी सबै क्षेत्रमा सदाचार संस्कृति प्रवर्धन गर्ने,

सामाजिक उत्तरदायित्वको प्रभावकारी ढाँचा तयार गरी कार्यान्वयनमा कडाइ गर्ने,

सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीति कार्यान्वयन गर्न सरकार बाहिरका विकास साझेदारलाई सहभागी गराउने,

समाजको कमजोर वर्ग पहिचान गर्ने र उनीहरूको आवश्यकता सम्बोधन गर्न अद्यावधिक तथ्याङ्कसहितको डिजिटल प्रणाली विकास गर्ने,

प्रगतिशील कर प्रणाली लागु गर्नुका साथै कमजोर वर्गको संरक्षणका लागि सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रम लागु गर्ने,

विकासको राष्ट्रिय नीति, आवश्यकता र प्राथमिकता अनुरूप गैरसरकारी क्षेत्रसँग साझेदारी र सहकार्य गर्ने,

सरकार र सरकार बाहिर रहेका विकास साझेदारहरूले सम्पादन गर्ने कामकारबाहीमा दोहोरपना हटाई परिपूरकता सुनिश्चित गर्ने,

समाजमा रहेको कमजोर वर्गको सशक्तीकरण र क्षमता विकासका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने ।

अन्त्यमा विकास प्रक्रिया जटिल र बहुआयामिक हुने हुँदा सरकार बाहिर रहेका विकास साझेदारहरूको संलग्नता अपरिहार्य छ । विकासको लाभको न्यायोचित वितरण नभएमा विकास अधुरो रहन्छ । त्यसैले मुलुकको सर्वाङ्गिण विकासका लागि सरकारको नीतिगत एवं नियामकीय नेतृत्व र सरकार बाहिरका पात्रहरूको सहभागिता, साझेदारी र इमानदारिता आवश्यक छ ।

२. अनुगमन तथा मूल्याङ्कन ऐन, २०८० अनुसार मूल्याङ्कनका चरण उल्लेख गर्नुहोस् । साथै, अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगका जिम्मेवारी उल्लेख गर्नुहोस् ।

नेपालमा विकास प्रशासनलाई नतिजामुखी बनाउन विभिन्न नीतिगत, कानुनी तथा प्रणालीगत व्यवस्था गरिएको छ । अनुगमन तथा मूल्याङ्कन ऐन, २०८० ले विकास नीति, योजना, आयोजना तथा कार्यक्रमको अनुगमन र मूल्याङ्कनका सारभूत विषय र सोसम्बन्धी प्रव्रिmयागत विषय उल्लेख गरेको छ । अनुगमन तथा मूल्याङ्कनमा संलग्न हुने विभिन्न निकायको जिम्मेवारीसमेत स्पष्ट पारेको छ । 

मूल्याङ्कनका चरण :

कुनै कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने निकायले देहायबमोजिम मूल्याङ्कन गर्नु वा गराउनु पर्छ :

क) कार्यक्रम तथा आयोजना सुरु गर्नुअघिकै अवस्थामा :

कार्यक्रम तथा आयोजनाको औचित्य, सम्भावित असर र लाभ लागतका आधारमा पूर्वमूल्याङ्कन,

ख) कार्यक्रम तथा आयोजना कार्यान्वयनको अवस्थामा :

कार्यक्रम तथा आयोजनाको प्रक्षेपित उपलब्धि, सान्दर्भिकता, सामाञ्जस्यता, प्रभावकारिता, कार्यदक्षता र दिगोपनाको आधारमा चालु मूल्याङ्कन,

ग) कार्यक्रम तथा आयोजना सम्पन्न हुने समयमा वा सम्पन्न भइसकेपछि :

कार्यक्रम तथा आयोजनाको प्रक्षेपित उपलब्धि, सान्दर्भिकता, सामाञ्जस्यता, प्रभावकारिता, कार्यदक्षता र दिगोपनाको स्थितिसमेत लेखाजोखा गरी सम्पन्न मूल्याङ्कन,

घ) निर्धारित समयमा सम्पन्न हुन नसकेको वा न्यून प्रगति भएमा योजनाको योजना परीक्षण मूल्याङ्कन, र 

ङ) कार्यक्रम तथा आयोजना सम्पन्न भई पूर्ण रूपमा सञ्चालनमा आएपछि :

कार्यक्रम तथा आयोजनाले अर्थतन्त्र वा जनजीवनमा पार्न गएको सकारात्मक वा नकारात्मक प्रभाव हेर्नका लागि सान्दर्भिकता, सामाञ्जस्यता, प्रभावकारिता, कार्यदक्षता, दिगोपना तथा प्रभावसमेत हेर्ने गरी प्रभाव मूल्याङ्कन ।

अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको जिम्मेवारी :

नेपाल सरकारको नीति, योजना तथा वार्षिक कार्यक्रम कार्यान्वयन, कार्यसम्पादन तथा विकास नतिजा र सेवा प्रवाहको सन्दर्भमा सम्बन्धित निकाय वा पदाधिकारीलाई जवाफदेही बनाउन अनुगमन तथा मूल्याङ्कन गर्ने,

राष्ट्रिय आकाङ्क्षा तथा लक्ष्य हासिल गर्न सहयोग पु¥याउने उद्देश्यले अनुगमन तथा मूल्याङ्कन गर्ने,

अनुगमन तथा मूल्याङ्कनका लागि प्रणाली विकास, कार्ययोजना निर्माण र नतिजामूलक कार्यसम्पादन सूचकको विकास र प्रयोग गर्ने वा गराउने,

अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा राष्ट्रिय योजना आयोग र अन्य जिम्मेवार निकायले प्रभावकारी अनुगमन गरे वा नगरेको विषयमा आवश्यक निगरानी गर्ने ।

अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा राष्ट्रिय योजना आयोगको जिम्मेवारी ः

क) राष्ट्रिय योजना आयोगले आवश्यकता अनुसार देहायका योजना तथा आयोजनाको अनुगमन तथा मूल्याङ्कन गर्ने,

नेपाल सरकारका आवधिक योजना, गुरुयोजना र वार्षिक योजना,

राष्ट्रिय गौरवका आयोजना,

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना,

रूपान्तरणकारी आयोजना,

नेपाल सरकारले तोकेका महìवपूर्ण आयोजना,

वैदेशिक सहायतामा सञ्चालित आयोजना,

अन्तरसरकारी वित्त हस्तान्तरणसम्बन्धी कानुनबमोजिम प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराइएको अनुदानबाट सञ्चालित आयोजना ।

ख) उल्लिखित आयोजनाको लागत, कार्यान्वयनको समय सीमा तथा आयोजनाको महìवको आधारमा आयोगले छनोट गरेका आयोजनाको हकमा छ महिनामा एक पटक अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने,

ग) मूल्याङ्कन गर्दा आवश्यकता अनुसार पूर्वमूल्याङ्कन, मध्यावधि मूल्याङकन, योजना सम्पन्न मूल्याङ्कन र प्रभाव मूल्याङ्कन गर्ने,

घ) कार्यान्वयन सम्पन्न भई सञ्चालनमा रहेका योजनाको दिगोपना मूल्याङ्कन गर्ने,

ङ) अन्य कुनै निकायबाट गरिएको योजनाको मूल्याङ्कनको समष्टिगत मूल्याङ्कन गर्ने,

च) आयोगले दीर्घकालीन र मध्यावधिक आवधिक योजनाको बिचमा र अन्त्यमा कार्यान्वयन अवस्थाको मूल्याङ्कन गर्नु गराउनुपर्ने,

छ) मन्त्रालय तथा अन्य जिम्मेवार निकायले प्रभावकारी रूपमा अनुगमन तथा मूल्याङ्कन गरे वा नगरेको विषयमा आवश्यक निगरानी गर्ने ।

अन्त्यमा मुलुकमा उपलब्ध सीमित स्रोतसाधनको महत्तम उपयोग गरी विकासको नतिजा हासिल गर्न अनुगमन तथा मूल्याङ्कन आवश्यक पर्छ । निर्धारित समय, लागत, गुणस्तर, परिमाण र दिगोपना सुनिश्चित हुने गरी आयोजना तथा कार्यव्रmम सम्पन्न गर्न गराउन अनुगमन तथा मूल्याङ्कनमा जोड दिइन्छ । अनुगमन तथा मूल्याङ्कनको जिम्मेवारी प्राप्त गरेका निकायले सो कार्य प्रभावकारी रूपमा सम्पादन गरे नगरेको विषयमा निगरानी गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रदान गरिएको छ । नतिजामूलक कार्यसम्पादन सूचकको विकास र कार्यान्वयन, प्रणाली विकास एवं प्रयोग र योजनाबद्ध अनुगमन तथा मूल्याङ्कनमा जोड दिई यसको प्रभावकारिता वृद्धि गर्नु आवश्यक छ । 


३. निजामती कर्मचारीका पेसागत आचरणसम्बन्धी व्यवस्था उल्लेख गर्नुहोस् ।

निजामती सेवा सरकारका नीति कार्यान्वयन गर्ने संयन्त्र हो । यसले सरकारका नियमित, आकस्मिक, विकासात्मक र नियामकीय सेवाहरू प्रदान गरी नागरिकलाई सरकारको उपस्थितिको आभाष दिलाउँछ । सरकारी कोषको सञ्चालन एवं कानुनप्रदत्त अधिकारको प्रयोग गरी अधिकतम नागरिक हितका लागि काम गर्नुपर्ने जिम्मेवारीमा रहेका कर्मचारीबाट नागरिकमैत्री व्यवहारको अपेक्षा गरिन्छ । यस सन्दर्भमा निजामती सेवाका कार्मचारीको आचरणसम्बन्धी नियमावली, २०६५ ले निजामती कर्मचारीका पदीय, पेसागत र व्यक्तिगत आचरण निर्धारण गरेको छ । जस अनुसार निजामती कर्मचारीका पेसागत आचारण यस प्रकार छन् ः

क) कानुनको जानकारी र पालना

आफ्नो कामसँग सम्बन्धित सबै कानुनको जानकारी राख्नुपर्ने,

प्रचलित कानुन, अदालतको निर्णय वा आदेश, संवैधानिक निकाय र नेपाल सरकारको निर्णयको सदैव पालना गर्नुपर्ने,

ख) पेसाको सम्मान

आफ्नो पेसाको सम्मान गर्ने,

पेसालाई प्रतिष्ठापूर्ण र मर्यादित बनाउन प्रयत्नशील रहने,

सेवाग्राही वा जनतामा निजामती सेवाप्रति नकारात्मक भावना विकास गराउन कुनै कुरा गर्न वा सूचना प्रवाह गर्न नहुने,

ग) आफ्नो क्षमता विकासमा प्रयत्न,

आफ्नो सुम्पिएको जिम्मेवारीसँगै पेसागत क्षमता विकासमा प्रयत्नशील रहने,

घ) पेसागत अनुमतिपत्र पालना

पदीय कर्तव्य पालना गर्दा कुनै अनुमतिपत्र लिनुपर्ने अवस्थामा त्यस्तो अनुमतिपत्रका सर्त पालना गर्नुपर्ने,

ङ) गुणस्तरीय कार्यसम्पादन

सुम्पिएको जिम्मेवारी इमानदारीतापूर्वक र क्षमताले भ्याएसम्म गुणस्तरीय ढङ्गले सम्पादन गर्नुपर्ने,

आफूले सम्पादन गरेका कामको जिम्मेवारी लिनुपर्ने,

राय सल्लाह दिँदा इमानदारिता र निष्पक्षतापूर्वक कानुनसम्मत हुने गरी दिनुपर्ने,

च) व्यावसायिक मापदण्डको पालना,

आफ्नो पेसा वा कामसँग सम्बन्धित नैतिक मापदण्डको पालना गर्ने,

छ) निर्देशनको पालना,

सरकारी वा कार्यालयको कामको कामको सम्बन्धमा आफूभन्दा माथिको कर्मचारीको निर्देशनको शीघ्र पालना गर्नुपर्ने,

ज) आर्थिक अनुशासन र सदाचारिता,

आफ्ना कामकारबाही मितव्ययी र किफायतीपूर्वक गर्नुपर्ने,

आफू र परिवारबाट समेत सरकारी कोष, सरकारी वा सार्वजनिक सम्पत्तिको हिनामिना, बेवास्ता, दुरुपयोग गर्न गराउन नहुने,

सरकारी वा सार्वजनिक सम्पत्तिको अनधिकृत रूपमा कुनै राजनीतिक दल वा दलको भातृसङ्गठन वा भातृसङ्गठनका कार्यव्रmमका लागि प्रयोग गर्न दिनु हुँदैन,

अन्त्यमा कर्मचारीको कामकारबाही र व्यवहारबाट सरकारप्रति नागरिक दृष्टिकोण तय हुन्छ । त्यसैले राष्ट्र सेवालाई आफ्नो पेसा बनाएको र सरकारको प्रभावकारिता अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहने संयन्त्रको काम र व्यवहार समाजमा अन्य व्यक्ति, संस्था वा निकायका लागि समेत अनुकरणीय हुने गरी मानक स्थापित गर्न आवश्यक छ ।

४. निर्वाचन क्षेत्र निर्धारण आयोगको बारेमा सङ्क्षिप्त जानकारी दिनुुहोस् ।

सङ्घीय संसद्को सदस्य र प्रदेश सभाका सदस्यको निर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्दा नेपाल सरकारले एक जना अध्यक्ष, अन्य तीन जना सदस्य र एक जना सदस्य सचिव रहने गरी निर्वाचन क्षेत्र निर्धारण गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ । यसरी गठन हुने आयोगको कार्य अवधि सो आयोग गठन गर्दा नेपाल सरकारले तोकेबमोजिम हुने प्रावधान छ । आयोगले आफ्नो कार्यविधि आफैँ निर्धारण गर्न सक्छ । आयोगलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकारले उपलब्ध गराउँछ । आयोगले सम्पादन गरेको कामको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्छ । नेपाल सरकारले सो प्रतिवेदन सङ्घीय संसद्मा पेस गर्नुका अतिरिक्त कार्यान्वयनका लागि निर्वाचन आयोगमा पठाउँछ । आयोगले निर्धारण गरेको निर्वाचन क्षेत्र हरेक २० वर्षमा पुनरवलोकन गर्नुपर्ने व्यवस्था छ । आयोगद्वारा निर्वाचन क्षेत्र निर्धारण गरिएको र पुनरवलोकन गरिएको विषयमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने व्यवस्था संविधानमा रहेको छ । 

प्रस्तुतकर्ता : अर्जुन शर्मा