कीर्तिपुर (काठमाडौँ), चैत १० गते । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका कागहरूमा बर्ड फ्लू सङ्क्रमित भएको पुष्टि भएको छ ।
कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ६८ वटा काग सङ्कलन गरी आज पुरेको छ ।
“त्यहाँ अझै मरेका काग भेटिएका छन्, मरेका सबै काग आज सङ्कलन गर्न नसकिएकाले भोलि पनि काम जारी राख्ने छौँ”, नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले भन्नुभयो । उहाँका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरू मरेको खबर गरेका थिए ।
प्रमुख गैरेका अनुसार परीक्षणका लागि १० वटा मृत काग पशुसेवा विभागको प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालामा परीक्षण गरेपछि ती कागमा बर्ड फ्लू पुष्टि भएको हो । त्यसपछि नगरपालिका र पशुसेवा विभागका टोलीले आज मरेका काग सङ्कलन गर्ने निर्णय गरेको थियो ।
साथै सोही स्थानमा अन्य पंक्षी मृत भेटिएमा सोको नमूना सङ्कलन गर्न निर्देशन पनि टोलीलाई दिइएको थियो । सोहीअनुसार आज अपराह्न ३ बजेदेखि मृत काग सङ्कलन गर्न थालिएको थियो । आज सङ्कलन गरिएका ६४ वटा काग खाल्डो खनी गाडिएको छ ।
उद्यानमा अन्य चरा भने त्यसरी मरेको नभेटिएको प्रमुख गैरेले बताउनुभयो । “खुला स्थानमा जताततै उड्ने पंक्षी भएकाले कुखुरामा देखिने बर्ड फ्लूभन्दा यसको नियन्त्रण जटिल हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार कीर्तिपुर नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले मृत कागमा 'एचफाइ एन वान र एच नाइन' गरी दुवै खालको बर्ड फ्लू भाइरस देखिएको जानकारी दिनुभयो । डुलुवा पंक्षीमा पर्ने कागमा फिरन्ते चराबाट बर्ड फ्लू सङ्क्रमण भएको हुनसक्ने उहाँको अनुमान छ । केही वर्षअघि राजधानीस्थित बेलायती राजदूतावास परिसरमा पनि यसै गरेर कागमा सङ्क्रमण देखिएको जानकारी पनि उहाँले दिनुभयो ।
यस्तो समस्या विभिन्न समयमा देखिने बताउँदै उपाध्यायले त्यसले अरु चरालाई सार्ने जोखिम पनि उत्तिकै रहेको समेत बताउनुभयो । “त्यसैले कुखुरा, बटाई वा कालिजपालक किसानलाई जङ्गली चराचुरुङ्गी, कुकुर वा बिराला जान नसक्ने गरी खोरको व्यवस्थापन गर्न तथा खुल्ला ढङ्गले चराचुरुङ्गी नपाल्न आग्रह गरिएको छ”, उहाँको भनाइ छ ।
सङ्क्रमण भयो भन्दैमा अन्यत्रका पनि कागलाई खोजी खोजी मार्ने जस्ता काम भने गर्न नहुने भनाइ उहाँको छ । साथै मरेका कुखुरा बङ्गुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि उहाँले आग्रह गर्नुभयोे । रासस