• १० चैत २०८२, मङ्गलबार

बेवारिसे बन्यो द्रुत बस सेवा

blog

काठमाडौँ, चैत १० गते । सरकारी निकायको दैनिक निगरानीमा उत्साहकासाथ सुरु भएको द्रुत बस सेवा हाल सरकारी निकायकै बेवास्तामा परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागको अगुवाइमा अढाई वर्षअघि रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सुरु भएको थियो । केही महिना विभागले निगरानी गरे पनि हाल विभाग यो सेवाप्रति आफैँ बेखबर छ । 

एम्बुलेन्स सरहको ट्राफिक सुविधासहित छुट्टै सडक लेनको व्यवस्था गरी २०८० असोज ३ गतेबाट द्रुत बस सेवा सञ्चालन भएको थियो । ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि नमुना अभ्यासका रूपमा सुरु भएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवसको अवसर पारेर रत्नपार्कको शान्तिवाटिकाबाट द्रुत बस सेवा सुरु गर्नुभएको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “तत्कालीन मन्त्री प्रकाश ज्वालाको सक्रियतामा लोकप्रियता कमाउन सेवा सुरु गरिएको थियो तर मन्त्री पद गएपछि सरकारी निकायको सव्रिmयता पनि सँगै गयो ।” 

हाल व्यवसायीले डेडिकेटेड लेनमा गुडाउन पाएका छैनन् । ट्राफिकले पनि सहजीकरण नगरेको व्यवसायीको गुनासो छ । सिटौलाले भन्नुभयो, “हामीकहाँ सडक पूर्वाधार छैन । अहिले त सूर्यविनायकदेखि धुलिखेलसम्म सडक निर्माण भइरहेको छ कसरी सम्भव हुनु ?”

कार्यालय समयमा हुने अत्यधिक सवारी जामलाई ध्यानमा राखेर द्रुत बस सुरु भएको हो । सडकमा रातो रङ लगाएर छुट्टै लेनको व्यवस्था र ट्राफिक बत्तीमा समेत रोक्न नपर्ने गरी सुरु गरिए पनि अहिले सरकारी निकायबाटै उपेक्षा भएको व्यवसायी बताउँछन् । काभ्रे यातायात प्रालिका व्यवसायी निरोज बादे भन्नुहुन्छ, “पहिला त दिनदिनै चासो दिएका थिए तर अहिले कसैले चासो नै दिएका छैनन् । हामी आफैँले चलाइरहेका छौँ । मन लागे चल्छ, नलागे चल्दैन । मान्छे भए चल्छ, नभए चल्दैन ।” सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन नभएको द्रुत बस सेवामा आबद्ध व्यवसायीको गुनासो छ । यात्रुको चाप हुने समय अनुसार द्रुत बसको व्यवस्थापन गरिएको थियो । यात्रुले समयमै बस पाउने र बस पनि रित्तै गुड्न नपर्ने अवस्थाको निर्माण भएको थियो । यात्रुको चाप हुने बिहान र साँझको तालिका बनाएर बस चलाइएको थियो तर अहिले कुनै तालिका छैन । 

तत्कालीन अवस्थामा यातायात व्यवस्था विभागको टाइमकार्ड अनुसार बिहान ८:३० बजे सूर्यविनायकबाट पहिलो बस छुट्थ्यो । हरेक तीन मिनेटमा बस छुट्थे तर अहिले उक्त नियम लागु छैन । विभागका सूचना अधिकारी गणेशमानसिंह राईले भन्नुभयो, “द्रुत बस सेवा के भइरहेको छ त्यति जानकारी भएन । विभागबाट हेर्ने काम भएको छैन ।” मन्त्रालय पनि यस विषयमा बेखबर छ । मन्त्रालयका एक अधिकारीले भन्नुभयो, “यातायात विभागले चलाउने कुरा हो । अहिले के भइरहेको छ अपडेट लिइएको छैन ।”

सार्वजनिक यातायात सुधारका लागि सुरु भएको दु्रत बस सेवामा एप जडान गरी अनलाइन प्रणालीमा सञ्चालन गरिने योजना बनाइएको थियो । यात्रुले एपमार्फत बस नम्बर, छुट्ने समय, सिट र भाडादर हेरेर आफू अनुकूलको यात्रा गर्न एप जडान गर्ने योजना थियो र कार्यान्वयन भएन । 

ट्राफिक प्रहरीले भने सञ्चालनमा सहजीकरण गरिरहेको जनाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले भन्नुभयो, “सडकमा द्रुत बस सेवा चलेको देखिन्छ । उनीहरूलाई ट्राफिक प्रहरीले सहजीकरण गर्दै आएको छ ।” व्यवसायीले भने द्रुत बस सेवाको बोर्ड भने हटाइसकेका छैनन् । ट्राफिक सहजीकरण र यात्रु चढ्ने लोभले गर्दा व्यवसायीले बोर्ड नहटाएको सिटौलाको भनाइ छ । सुरुमा ३६ वटा बस राखिएको थियो । १९ स्थानमा बस स्टप तोकिएको छ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर र सूर्यविनायकलगायत यात्रुको चाप हुने स्थानमा बस स्टप तोकिएको थियो । 

Author
लक्ष्मण दर्नाल

उहाँ गोरखापत्र दैनिकका उपत्यका समाचारदाता हुनुहुन्छ ।