• २५ वैशाख २०८३, शुक्रबार

डिजेलका सवारी प्रदूषण मापदण्डविपरीत

blog

काठमाडौँ, वैसाख २५ गते । काठमाडौँ उपत्यकामा डिजेलबाट चल्ने सवारीमध्ये ७१ प्रतिशत वायुप्रदूषणको मापदण्डविपरीत चलेको पाइएको छ । काठमाडौँ महानगरपालिकाले गरेको चेकजाँचमा उक्त तथ्य देखिएको हो । 

महानगरपालिकाका अनुसार डिजेलबाट चल्ने ५४० वटा सवारीको प्रदूषण जाँच गर्दा ३८५ वटा मापदण्डविपरीत (फेल) भएका छन् । जम्मा १५५ वटा मात्रै पास भएको महानगरको वातावरण व्यवस्थापन विभागकी वातावरण निरीक्षक सृष्टि श्रेष्ठले जानकारी दिनुभयो । डिजेलबाट चल्ने सवारीमध्ये अधिकांश वातावरणीय मापदण्डविपरीत गुडिरहेका छन् । 

पेट्रोलबाट चल्ने सवारीमा भने प्रदूषणको मात्रा कम हुने गरेको छ । पेट्रोलबाट चल्ने ५७५ वटा सवारीमध्ये ५३९ वटा चेकजाँचमा पास भएका छन् । जम्मा ३६ वटा सवारी फेल भएका छन् । अत्यधिक प्रदूषण देखिएकाले एक सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ४४ मध्ये ३३ वटा सवारीलाई ट्राफिक प्रहरीले जरिबाना गरेको छ । 

विभागले चालु आवमा हालसम्म एक हजार ११५ वटा सवारीलाई चेकजाँच गरेको छ । जसमा सवारी प्रदूषण जाँचमा ६९४ वटा पास भएका छन् भने ४२१ वटा फेल भएका छन् ।    

अत्यधिक प्रदूषण देखिएकाले एक सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ४४ मध्ये ३३ वटा सवारीलाई ट्राफिक प्रहरीले जरिबाना गरेको छ । 

वातावरण विभागले गएको पुसमा गरेको चेकजाँचमा पनि ५३ प्रतिशत सार्वजनिक सवारी वायुप्रदूषणको मापदण्डविपरीत गुडिरहेका थिए । पुराना सवारीले तोकिएको मापदण्डभन्दा दोब्बर प्रदूषणयुक्त कालो धुवाँ फाल्दै सडकमा गुडिरहँदा पनि नियमनकारी निकायको प्रभावकारिता नहुँदा वायुप्रदूषणको मापदण्डविपरीतका सवारीको सङ्ख्या सडकमा वृद्धि भइरहेको छ । 

वातावरण विभागले गत वर्ष ९२७ वटा सवारीको प्रदूषण चेकजाँच गर्दा ३१ प्रतिशत सवारी मापदण्डविपरीत पाइएको थियो । काठमाडौँ उपत्यकामा उद्योगधन्दा, कलकारखाना, सवारीसाधनबाट निस्कने हानिकारक धुवाँले वायुप्रदूषण गरिरहेको छ । त्यसका अतिरिक्त सहरी क्षेत्रमा बढ्दो विकासनिर्माणका क्रियाकलापले पनि प्रदूषणलाई बढावा दिएको छ । विभागका अनुसार काठमाडौँ उपत्यकामा हुने वायुप्रदूषणमा ३४ प्रतिशत सवारीसाधनको योगदान छ । 

श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीका अनुसार बागमतीमा झन्डै २२ लाख सवारी छन् । दैनिक १८ हजार सवारीसाधन काठमाडौँ भित्रिने र बाहिरिने गर्छन् । उपत्यकाभित्र मात्रै १३ लाख सवारीसाधन दैनिक गुडिरहेका हुन्छन् । डिजेलबाट चल्ने र सार्वजनिक सवारीमा बढी समस्या देखिने गरेको एकान्तकुना कार्यालयले जनाएको छ ।     

Author
लक्ष्मण दर्नाल

उहाँ गोरखापत्र दैनिकका उपत्यका समाचारदाता हुनुहुन्छ ।