• २५ वैशाख २०८३, शुक्रबार

सोह्र युरोपेली देशसँग श्रम समझदारीको पहल

blog

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिनुभएको हो । 

मन्त्रालयका अनुसार जिटुजी र बिटुबी गरी हाल १३ देशसँग मात्रै श्रम समझदारी गरेको छ तर नेपाली भने रोजगारीका लागि १७८ वटा देशमा श्रम स्वीकृति लिएर गएका छन् । श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन् । 

अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डरलाग्दो रहेको छ । श्रममन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रमशोषण नियन्त्रण गर्न सकेमा यी देशमा जाने नेपालीमाथि भएरहेको ठगी नियन्त्रण हुने बताउनुभयो । 

उहाँका अनुसार श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिक गैरकानुनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको पनि स्वीकार गर्नुभयो । बैठकमा उठेका प्रश्नको जवाफमा उहाँले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट पार्नुभयो । 

बैठकमा समिति सदस्यले वैदेशिक रोजगारमा जाने नेपालीलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिनुभयो । बैठक सो समितिका सभापति रहबर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।