• २७ फागुन २०८२, बुधबार

प्रत्यक्षमा एक जना दलित विजयी

blog

काठमाडौँ, फागुन २७ गते । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ दलित समुदायको एक व्यक्ति मात्रै निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बाँके क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनार २९ हजार ५५१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ नै दलित समुदायबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ । 

दलित अभियन्ता एवं रास्वपाका केन्द्रीय सदस्य सुनारले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सुमन मल्ललाई नौ हजार ९३६ मतले पराजित गर्नुभएको थियो । मल्लले १९ हजार ६१५ मत ल्याउनुभएको थियो । 

चुनावी मैदानमा २३२ जना अर्थात् ६.९० प्रतिशत दलित थिए । समता फाउन्डेसनको तथ्याङ्क अनुसार २३२ मा करिब ११२ जना दलित स्वतन्त्र उम्मेदवार थिए । अधिकांश स्वतन्त्र उम्मेदवारले एक सय भोट पनि कटाउन नसकेको फाउन्डेसनले जनाएको छ । मधेश र सहरी क्षेत्रका दलितले धेरै सङ्ख्यामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

रास्वपाले दुई वटा निर्वाचन क्षेत्रमा दलितलाई उम्मेदवार बनाएको थियो । इलाम १ का रास्वपाका उम्मेदवार विमल गदाल भन्ने निर्वाचित हुन सक्नु भएन । उहाँले नौ हजार १६० मत ल्याएर चौथो स्थानमा रहनुभयो । नेपाली कांग्रेसले बझाङ १ बाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई उम्मेदवार बनाएको थियो । तर स्नेहीले १६ हजार ३०४ मत ल्याएर दोस्रो स्थानमा रहनुभयो । स्नेही नेकपा (एमाले) का ऐनबहादुर महरसँग दुई हजार २३९ मतले पछाडि पर्नुभयो ।

बर्दिया २ बाट एमालेकी उम्मेदवार बिमला विकले १० हजार ७७२ मत ल्याएर चौथो स्थानमा रहनुभयो । एमालेका अर्का उम्मेदवार डडेलधुरा १ का चक्रप्रसाद स्नेही दुई हजार ९२६ मत ल्याएर चौथो स्थानमा पराजित हुनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी कञ्चनपुर ३ का मानबहादुर सुनारले चार हजार २८४ मत र स्याङ्जा २ का उम्मेवार पदमबहादुर विकले ८४८ मत ल्याएर चौथो स्थानमा रहनुभयो । 

सुनसरी ३ मा श्रम संस्कृति पार्टीका रामप्रसाद सदाले एक हजार ७८० मत ल्याएर चौथो स्थानमा रहनुभयो । त्यस्तै मुगु १ रास्वपाका उम्मेदवार भुवन टमटा पनि ५३० मत ल्याएर चौथो स्थानमा रहनुभयो । कालीकोट १ का नेकपा (माओवादी) का उम्मेदवार पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले पनि चार हजार ९९३ मत ल्याएर चौथो स्थानमा रहनुभयो । 

बाँके ३ बाट निर्वाचित खगेन्द्र सुनारले भन्नुभयो, “प्रत्यक्षमा दलितको समानुपातिक प्रतिनिधित्वको सुनिश्चित हुनुपथ्र्यो । त्यो हुन सकेन । अब संविधानमै व्यवस्था हुनु पर्छ । संसद्मा दलितको आवाज र मुद्दा ओझेलमा पार्न दिइने छैन । हामी सामूहिक रूपमा आवाज उठाउँछौँ ।” 

   

Author
लक्ष्मण दर्नाल

उहाँ गोरखापत्र दैनिकका उपत्यका समाचारदाता हुनुहुन्छ ।