परासी समाचारदाता
परासी, वैशाख १४ गते । निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण पश्चिम नवलपरासीका सात वटै स्थानीय तहको विकासनिर्माणको काम पूर्ण रूपमा प्रभावित भएको छ । जिल्ला दररेट र बजार मूल्यमा ठुलो अन्तर देखिएपछि जिल्लाभर सञ्चालित सानाठुला गरी करिब दुई सय योजना अलपत्र परेका छन् ।
आइतबार सदरमुकाममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जिल्लाका जनप्रतिनिधिले हालसम्म जिल्लाभर करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको र बाँकी ७० प्रतिशत योजना ठप्प भएको जानकारी दिएका छन् । निर्माण सामग्रीको महँगीले गर्दा नयाँ ठेक्का लाग्न नसकेको र पुराना सम्झौता भएका कामसमेत व्यवसायीले अगाडि नबढाउँदा विकास बजेट फ्रिज हुने र पालिकामा थप आर्थिक दायित्व सिर्जना हुने देखिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले भन्नुभयो, “जिल्लाभरका ७० प्रतिशत योजना अलपत्र पर्नु निकै दुःखद कुरा हो । निर्माण सामग्रीको मूल्य आकासिएकाले ठेकेदारले काम गर्न छाडेका छन् ।” उहाँले सरकारले समयमै मूल्य समायोजन नगरे यो वर्ष विकास बजेट ठुलो परिमाणमा फ्रिज हुने निश्चित देखिएको बताउनुभयो ।
रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले ठेक्का आह्वान गर्दा पनि निर्माण व्यवसायीले दररेट कम भएको भन्दै टेन्डर हाल्न नमानेको बताउनुभयो । उहाँले भन्नुभयो, “योजना समयमा सम्पन्न नहुँदा आगामी वर्षका लागि नगरपालिकालाई थप दायित्व सिर्जना भएको छ । जसले गर्दा नयाँ योजना ल्याउन गाह्रो हुने देखिन्छ ।”
बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले बजारमा सिमेन्ट, फलामे डन्डी र इन्धनको मूल्य आकासिएपछि कामदारलाई ज्याला दिनसमेत समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो दररेटमा काम गर्दा घाटा हुने भएपछि ठेकेदारले काम रोकेका हुन् ।”