• २५ वैशाख २०८३, शुक्रबार

खानी सञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

blog

खानी सञ्चालनका लागि ज्ञापनपत्र बुझाउँदै बैतडीका नागरिक अगुवा । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, वैशाख २५ गते ।  विस्तृत अध्ययन भई उत्खननका लागि निजी क्षेत्रले अनुमति (लाइसेन्स) पाएर पनि खानी सञ्चालन नभएपछि बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । विस्तृत अध्ययन भइसकेका खानीमा सिमेन्ट उद्योगमा प्रयोग हुने चुनढुङ्गा, फलाम र कृषि मलमा प्रयोग हुने फस्फोराइट खानी रहेका छन् । 

बुधबार उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, नागरिक अगुवा र बुद्धिजीवीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । उहाँले वर्तमान सरकारले बैतडीवासीको माग सुन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।  

उहाँले भन्नुभयो, “सरकारले सिमेन्ट उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उत्खननको लाइसेन्स दिइसकेको छ । सडक विभागसँग राय माग गर्ने विषयको फाइल अड्किएकाले ढिलासुस्ती भइरहेको जानकारी प्राप्त भएपछि सर्वसधारणमा चासो बढेको छ । खानी सञ्चालन हुन सके हजारौँले रोजगारी पाउने आशा गरिएको छ ।”  

सुदूरपश्चिम प्रदेश सरकारको पहलमा २०७८ सालमा भएको विस्तृत अध्ययनपछि बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाको सिमाना धर्मधरमा रहेको चुनढुङ्गा खानी उत्खनन गर्न आइएई ग्रुपले अनुमति पाएको छ । 

सो कम्पनीले ३० अर्ब रुपियाँ लगानी गरेर सिमेन्ट उद्योग सञ्चालन गर्ने तयारी थालेको कम्पनीका प्राविधिक प्रेम खड्काले बताउनुभयो । खानी उत्खननका लागि सबै प्रक्रिया पूरा भइसके पनि खानीभन्दा तल सडक क्षेत्र परेकाले सडक विभागसँग राय माग गरको उहाँले बताउनुभयो । 

केही समयअघि सो फाइल विभागबाट बैतडी आइपुगेपछि स्थालगत अध्ययन गर्दा पाँच सय मिटर टाढा रहेको सडक डिभिजन कार्यालयका प्राविधिक इन्जिनियर प्रदीप भट्टले बताउनुभयो । उहाँले सडक विभागले पुनः अध्ययन गरेर पठाउन भनेकाले सोही अनुसार काम भइरहेको जानकारी दिनुभयो । 

त्यसै गरी दोगडाकेदारमा रहेको फस्फोराइट खानी उत्खनन गर्न छ वर्षअघि भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्काको नेतृत्वमा १५ जनाको टोलीले ५५ दिनसम्म खानीमा ड्रिल (प्वाल पार्ने काम) गरेर नेपालमै कृषि मल बन्ने 

सम्भावना औँल्याएर टोली फर्किएको थियो । अध्ययनपछि खानी उत्खननका लागि कोही नफर्किएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

बैतडीको पुर्चौडी नगरपालिकाको मल्लादेहीको कालीढुङ्गा क्षेत्रमा ४० वर्षअघि स्थानीयले उत्खनन गरेर फलाम निकालेका चार सयभन्दा बढी खाडल अहिले पनि भेटिने गरेको चन्दले बताउनुभयो । त्यहाँको फालाम खानी द्वन्द्वकालमा बन्द भएको थियो ।