रामकृष्ण बोहरा
बागलुङ, चैत १० गते । देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालीका मन्दिर परिसरमा बागलुङको मौलिक र ऐहासिक महत्व बोकेको चैत्राष्टमी मेला सुरु भएको छ ।
मंगलबार मेलाको उद्घाटन गर्दै गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले बागलुङ कालीकाको महत्व बढाउन सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । गुठी संस्थानले देशभरका मौलिक महत्व बोकेका सम्पदाको प्रवर्धन गर्दै संस्कृति संरक्षणमा पनि ध्यान दिएको बताउँदै उहाँले आगामी दिनमा मौलिक कला र संस्कृति संरक्षणमा साथ दिने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले चैते दशैंलाई मौलिक चाड र मेलाको रुपमा मनाउने र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने पर्वको रुपमा निरन्तरता दिनुपर्ने बताउनुभयो । चैते दशैंको महत्व देश विदेशमा पुगेको भन्दै अझै व्यवस्थित बनाउने काममा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रममा बागलुङको ऐतिहासिक हनुमान नाच र विभिन्न जातजातीको नृत्य, झाँकी समेत प्रदर्शन गरिएको थियो । बागलुङ बजारबाट सुरु भएको झाँकीले कालीका मन्दिर परिक्रमा गरेर औपचारिक कार्यक्रम सुरु गरिएको थियो ।
शनिबारसम्म चल्ने मेलालाई मौलिक र ऐतिहासिक बनाउने बागलुङ भगवती गुठी व्यवस्थापन समितिको तयारी छ । बुधबारदेखि खुला पुरुष तथा महिला भलिवल खेल, छेलो हान्ने प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिनुभयो ।
मेलामा ग्रामीण क्षेत्रमा बनेका मौलिक घरायशी सामग्रीसहित रमाइलो मेला र सयौं व्यापारिक स्टल पनि राखिएको छ । मेलालाई व्यवस्थित बनाउन गुठीले स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतसँग समन्वय गरेको अध्यक्ष खड्काले बताउनुभयो ।
पाल्पाका राजा मणी मुकुन्दसेनकी छोरी विश्रवादेवीलाई पर्वतका राजा प्रतापी नारायण मल्लसँग विवाह गराइदिंदा ल्याएको दाइजो कालीकाको मूर्ति बिसाएको स्थानबाट उठाउन नसकेपछि विधिपूर्वक मन्दिर स्थापना गरेर बिसं १५९१ देखि यहाँ पूजा गर्न थालिएको किंवदन्ती छ ।
चैते दशैं र बडादशैंमा सयौं भक्तजन स्वतस्फुर्त आउने भएकाले कालिका मन्दिरमा नित्य पूजाका साथै व्यवस्थापकीय काम गुठीले गर्दैआएको छ ।