चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ११ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थीलाई बिदाइ गरेको छ। विद्यालयले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी यस वर्षको परीक्षामा सामेल हुने विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेलका अनुसार विद्यार्थीको मनोबल उच्च बनाउन र परीक्षामा सफलताको कामना गर्न बिदाइ कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमले विद्यार्थीको पढाइ र परीक्षाको तयारीमा थप उर्जा प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।
भानुजन माविबाट यस वर्ष साधारणतर्फ १४८, प्राविधिक धारतर्फ ४५ र खुलातर्फ सात गरी कुल २०० जना विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । यो विद्यालय जिल्लाकै सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय हो । हाल यहाँ कक्षा १ देखि १२ सम्म एक हजार ९०० विद्यार्थी अध्ययनरत रहेको सहायक प्रधानाध्यापक प्याकुरेलले जानकारी दिनुभयो ।
यस वर्षको एसइई यही चैत १९ गतेदेखि सुरु हुँदै छ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका अनुसार जिल्लाभर ११ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन हुनेछ । गत वर्ष १७ वटा केन्द्र रहेकामा यस पटक परीक्षार्थी सङ्ख्याका आधारमा ११ वटा मात्र केन्द्र कायम गरिएको एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो ।
निर्देशिका बमोजिम एउटा केन्द्रमा कम्तीमा १५० परीक्षार्थी हुनुपर्ने प्रावधानका कारण छ वटा केन्द्र कटौती गरिएको हो । यस वर्ष ताप्लेजुङबाट साधारणतर्फ नियमितका एक हजार ३४० र ग्रेड वृद्धिका ५४७ तथा प्राविधिक धारतर्फ नियमित १०३ र ग्रेड वृद्धिका १९ गरी कुल दुई हजार ९०० विद्यार्थी एसइईमा सहभागी हुने एकाइले जनाएको छ ।